रेनुका भट्टराई सानैदेखि गीत, संगीत भनेपछि हुरुक्कै हुन्थिन् । ठूलो भएपछि आधुनिक गीत गाउने लक्ष्य राखिन् । अनि संगीतको कक्षा पनि लिन सुरु गरिन् । विद्यालय तहमा नै उनी विभिन्न सांगीतिक प्रतियोगितामा भाग लिएर आफ्नो छाप छाड्न सफल भइसकेकी थिइन् ।

रेनुकाको जन्मघर अर्घाखाँची हो । बुटवल बसाइँ सरेको १७/१८ वर्ष भइसक्यो । बुवा/आमा बुटवलमै छन् । उनी भने काठमाडौँमा बसेर करियर अघि बढाइरहेकी छन् । रेनुका कलेज पढ्नेताका बुटवलमा महोत्सव लागिरहेको हुन्थ्यो । त्यहाँ दोहोरी प्रतियोगिता चलिरहेको हुन्थ्यो । दोहोरीको टुक्का हान्न पनि सिपालु भएकाले प्रतियोगितामा भाग लिएर म प्रथम भइन् । १० हजार रुपैयाँ पुरस्कार जितिन् । त्यसपछि अन्य स्थानमा पनि प्रतियोगितामा हिँड्न थालिन् । यसरी सांगीतिक जीवन सुरु भयो ।

'घुम्ती घुम्ती रोड', 'म त ठिटी गाउँले'लगायत चर्चित गीतमा स्वर दिइसकेकी छन् । एक दशककै अवधिमा लोकदोहोरी क्षेत्रमा स्थापित भइसकेकी छन् । सांगीतिक यात्राका क्रममा बेलायतलगायत देशको भ्रमण पनि गरेकी छन् । हाल उनी बेलायतमा रहेकी छन् । विभिन्न स्थानमा प्रस्तुति दिइरहेकी छन् । लाइभ दोहोरीमा चर्चित छिन्, रेनुका ।

‘एकदमै राम्रो चलिरहेको छ लाइभ दोहोरीको बजार । देशमा भन्दा पनि विदेशमा रहनुहुने नेपालीहरूले हाम्रो दोहोरी सुनेर इन्जोय गरिरहनुभएको हुँदो रहेछ । लाइभ दोहोरीलाई पनि एउटा व्यवसायको रूपमा हामीले अगाडि बढाइरहेका छौँ । कहिले आफ्नै र कहिले साथीभाइको युट्युब च्यानलमा गाउने गर्दा व्यस्त भइन्छ । माग लाइभ दोहोरीकै भएर म लाइभ दोहोरीमै बिजी छु,’ हालै गोर्खा मिडियासँगको कुराकानीमा उनले सुनाइन् ।

सुरुमा परिवारले सांगीतिक क्षेत्रमा लागेको मना पराएका थिएनन् । बुवआमालाई छोरी डाक्टर बनोस् भन्ने थियो । खेतबारी बेचेरै भए पनि डाक्टर बनाउने योजना बनाएका थिए । त्यसैले सुरुमा बुवाआमा निराश भए । तर अहिले भने एकदमै खुसी हुनुहुन्छ उहाँहरू । सबैको सपोर्ट छ रेनुकालाई ।
हालसम्म अविवाहित रहेकी यी सुन्दरी गायिकालाई विवाहको अफर पनि आउने गरेका छन् । तर कम्तीमा तीन वर्ष बिहे नगर्ने योजना छ ।

