बागमती । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेका ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा लामाले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समय दिएका थिए ।
नवनियुक्त मुख्यमन्त्री लामाको सपथग्रहण कार्यक्रम बुधबार बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । बुधबार नै मुख्यमन्त्री लामाले कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।
बागमतीमा कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ।
त्यस्तै, एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय लिने भएको छ।