लन्डन । धम्पुस पोखरी घोताने परिवार यूकेको १४ औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष गोलमान गुरुङको अध्यक्षतामा गत शनिबार अल्डरसटस्थित एम्पायर हलमा भएको कार्यक्रममा प्रमुख अतिथि आफ्नै समाजका संरक्षक एवम् ज्येष्ठ नागरिक लेप्टेनेन्ट रिटायर्ड जसबहादुर गुरुङ रहेको थियो ।
वार्षिक भेटघाट कार्यक्रममा विशेष अतिथिहरुमा मेडवेका पूर्वमेयर काउन्सिलर नीना गुरुङ, धम्पुस पोखरी घोताने परिवार नेपालका आमा समूहकी अध्यक्ष देवी गुरुङ, धम्पुस पोखरी घोताने परिवार नेपालका सल्लाहकार एवम् बगर तमु समाजका पूर्वअध्यक्ष अमरबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका कास्कीका वडा सदस्य गउप्रसाद गुरुङ, गोर्खा वार्ताकार एवम् जी १० प्रवक्ता मेजर रिटायर्ड जुदबहादुर गुरुङ, बुद्धिस्ट गुम्बा रेडिङ यूकेका अध्यक्ष इन्स्पेक्टर खेमबहादुर गुरुङ र मेडवेका पूर्वमेयर कन्सोर्ट ताईकाजी गुरुङ थिए ।
प्रमुख अतिथि र मेडवेका पूर्वमेयर काउन्सिलर नीना गुरुङले पानसमा दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । त्यसपछि नेपाल र बेलायतको राष्ट्रिय गानहरु बजाइएको थियो । कार्यक्रममा सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनट मौनधारण पनि गरिएको थियो । समाजका महासचिव हरिमाया गुरुङ अचानक दु:खमा परेको कारण कार्यक्रममा आउन नसक्ने भएपछि समाजका अध्यक्ष गोलमान गुरुङले नै औपचारिक कार्यक्रम सञ्चालन गरे भने प्रथम उपाध्यक्ष भगवान गुरुङले स्वागत मन्तव्य दिए ।
कार्यक्रमलाई थप रोचक बनाउन नेपालबाट बेलायतमा सांगीतिक यात्रामा रहेका उदयमान युवा नृत्यकार शिवदास गुरुङले कार्यक्रमको सुरुमै सुन्दर अनि उत्कृष्ट नाचहरु प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध परे । बधाई तथा सम्मानको कार्यक्रममा मेडवेका पूर्वमेयर काउन्सिलर नीना गुरुङ मेडवे क्याबिनेटको सम्पदा, संस्कृति र लेजरको पोर्टफोलियो होल्डरमा चयन भएकोमा समाजको तर्फबाट बधाई दिइयो। त्यसैगरी क्वोंने/घोताने/ घोण्डे गुरुङ (तमु) समाज यूकेका चेलीबेटी प्रमुखमा चयन भएकोमा चेली लिना क्वोंन्स्योलाई बधाई तथा शुभकामना दिइयो । साथै नेपालबाट बेलायत भ्रमणमा रहेका सम्पूर्ण आफन्तजन र सांगीतिक यात्रामा बेलायत आएका चर्चित कलाकारहरु गायिका सिर्जना खत्री, गायक राजन गुरुङ र नृत्यकार शिवदास गुरुङलाई स्वागत सम्मान गरिएको थियो ।
कार्यक्रममा पुरानो कार्यसमितिलाई धन्यवाद र नयाँ कार्यसमितिलाई समाजको तर्फबाट बधाई तथा शुभकामना दिइएको थियो । औपचारिक कार्यक्रमको अन्त्यतिर चेलीबेटीहरुको तर्फबाट शान्ति गुरुङले माइतीहरुको लागि मन्तव्य राखिन् । त्यसैगरी चेलीबेटीहरुले सदाझैँ कोसेलीस्वरुप रोटी र रक्सीले माइतीहरुलाई सम्मान गरे । रोटी र रक्सी स्व. रसा गुरुङको नाममा मिता गुरुङ र दिपा गुरुङले प्रायोजन गरेका थिए ।
मन्तव्य राख्ने क्रममा धम्पुस पोखरी घोताने परिवार नेपालका वर्तमान सल्लाहकार अमरबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका कास्कीका वडा सदस्य गउप्रसाद गुरुङ र प्रमुख अतिथि लेप्टेनेन्ट रिटायर्ड जसबहादुर गुरुङले शुभकामना मन्तव्य दिए । दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा चेलीबेटीहरुको तर्फबाट आफ्नै जन्मथलो धम्पुस गाउँको सालैजो गीतमा सामूहिक नृत्य प्रस्तुत गरे । त्यसपछि नेपालबाट आएका चर्चित गायिका सिर्जना खत्री र गायक राजन गुरुङको सुमधुर स्वरले उपस्थित सबैको मन जितेको थियो ।
निर्धारित समयमा सुरु भएको औपचारिक कार्यक्रम पश्चात प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमलाई सबैले झुमेर भरपूर मनोरञ्जन लिएका थिए । आकर्षक पुरस्कारहरु रहेको राफल ड्र ले पनि कार्यक्रमको रौनकता थप्यो । उक्त भाग्यशाली चिट्ठा कार्यक्रम कुमार गुरुङले सञ्चालन गरेका थिए भने विजेताहरुलाई पुरस्कार वितरण समाजका ज्येष्ठ नागरिकहरुले गरे ।
कार्यक्रममा खाना व्यवस्थापन साथै पेय पदार्थमा एम्पायर हल रेष्टुरेन्ट, साउण्ड सिस्टममा डेनिल परियार, फोटोग्राफीमा सन्तोष कोन्मे र भिडियोग्राफीमा नयन्द्र राईले विशेष भूमिका खेलेका थिए ।
कार्यक्रमको अन्तमा समाजका अध्यक्ष गोलमान गुरुङको छोटो मन्तव्य राख्दै वार्षिक भेटघाट कार्यक्रमलाई सुनमा सुगन्ध थपी आफ्नो सुन्दर नृत्य, सुमधुर स्वर, मीठो प्रस्तुतिहरु प्रस्तुत गरी भरपूर मनोरञ्जन गराइदिएकोमा समाजको तर्फबाट सबैलाई धन्यवाद दिए । साथै सम्मानित व्यक्तित्वहरुलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रममा उपस्थित सबैजनालाई धन्यवाद दिए ।