लन्डन । तनहुँको थर्पुमा जन्मेकी कुनै समय नेपाल प्रहरीको गायिका थिइन् । तर उनले उक्त जागिरबाट राजीनामा दिइन् । सरकारी जागिर छाडेर मौलिक लोकदोहोरी संगीतको यात्रालाई रोजेकी उनले १०० भन्दा बढी गीत गाइसकेकी छन् । हाल गायन तथा मोडलिङलाई सँगसँगै अघि बढाइरहेकी छन् ।

लम्साल सानैदेखि गीत संगीतमा रुचि राख्थिन् । रेडियोमा गीत बजेको सुन्थिन् । गीत संगीत बज्ने कार्यक्रमहरू भरसक छुटाउदिनथिन् । आफू पनि गुनगुनाउने प्रयास गर्थिन् । विद्यालयमा अनि गाउँमा हुने विभिन्न कार्यक्रममा पनि गाउन थालिन् । अग्रज कलाकारहरूको गीत सुनेर गाउने इच्छा बढ्दै गयो । र, रहरैरहरले गायिका बनिन् । अनि मोडलिङ पनि गर्न थालिन् ।
उनको औपचारिक सांगीतिक यात्रा भने २०६२ सालमा भएको हो । हालसम्म १०० भन्दा बढी गीतमा स्वर भरिसकेकी छन् । लम्सालको बुझाइमा लोकसंगीत भनेको संगीतको जननी हो । तर त्यही मौलिकता बोकेको कला संस्कृति हराउँदै गएकोमा भने उनलाई चिन्ता छ । ‘पछिल्लो समय हाम्रो पहिचान बोकेको मौलिक लोक गीतहरू हराउँदै गएको भान हुन्छ,’ उनी भन्छिन्, ‘हामीले मौलिक संकृतिको जगेर्ना गर्नुपर्छ । पेसागत हिसाबले लाग्नुपर्छ । क्षणिक रूपमा फाइदा नहोला । निरन्तरता दिन सकियो भने अवश्य सफल हुन सकिन्छ ।’

नेपाली लोक गायनमा फरक पहिचान बनाएकी छन् । लोकदोहोरी गीत तथा तिज गीतहरू आफ्नै मौलिक स्वरमा प्रस्तुत गर्ने क्षमता उनमा छ । सांगीतिक यात्राका क्रममा भारत, यूएई, क्यानडा, जापान, अस्ट्रेलिया, रसियालगायत देशको भ्रमण गरिसकेकी छन् । सोही क्रममा हाल बेलायत यात्रा छिन् ।
विदेशमा पनि आफूले धेरै माया पाइरहेको उनको अनुभव छ । ‘विदेशमा रहेका दर्शकहरू सबै नेपाली मन भएको हुनुहुन्छ । उहाँहरूले नेपाली कला र कलाकारलाई धेरै माया गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘जुनसुकै देशमा गए पनि हामीले माया पाइरहेका छौँ । विदेश आउँदा नेपाल पनि यस्तैगरी विकास भए हुन्थ्यो जस्तो लाग्छ ।’

लम्सालको नयाँ तिज गीत केही दिनमा नै बजारमा आउँदै छ । उनी राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सदस्य पनि हुन् । उनका चर्चित गीतहरूमा ‘नाकै हेर्दा थाहुनि’, ‘पातली’, ‘लाहुरे आएन झुकायो’, ‘धानको चामल धानकै चिउरा’लगायत रहेकी छन् । रेकर्डिङ गीतसँगै, दमदार लाइभ दोहोरी गाउन सक्ने क्षमता उनमा छ । हरेक वर्ष तिजमा मौलिक एकल तिज गीत बजारमा ल्याउने लम्साल आफ्नो गीतमा आफै मोडलिङ गर्न रुचाउँछिन् । गीतहरू आफ्नै युट्युब च्यानलमा राख्ने गरेकी छन् ।

लम्साल गीत संगीतलाई नै जीवन ठान्छिन् । परिवारले छोरी यो क्षेत्रमा नलागोस् भन्ने चाहेको भए पनि रहरले उनलाई संगीतमा डोहोर्यायो । ‘बाबा ममीको खुसी त अर्कै थियो । मेरो खुसीले यता लागेँ । आफूलाई गीत गाउनकै लागि जन्मिएको जस्तो लाग्छ,’ उनी भन्छिन्, जीवनभर गीत संगितमा नै समर्पित हुन्छु।’





