काठमाडौं । इलाम रोङ गाउँपालिका–६ निवासी ब्लड क्यान्सरपीडित ८ वर्षीय डेनियल घिमिरेको उपचारमा आर्थिक सहयोग गर्न परिवारले आग्रह गरेका छन् ।
करिब २ महिनाअघि ब्लड क्यान्सर पत्ता लागेका डेनियल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचाररत छन् । छोराको उपचारमा खर्च अभाव भएपछि बुबा विनोद र आमा गोमा घिमिरेले उनको पुनर्जीवनका लागि सहयोग गरिदिन देश, विदेशमा रहेका नेपालीमाझ आग्रह गरेका छन् ।
'एक वर्षअघिदेखि बिरामी पर्न थालेका छोरा डेनियललाई जाँच गराउने क्रममा दुई महिनाअघि भरतपुर अस्पतालमा रक्त क्यान्सर भएको पत्ता लाग्यो,' डेनियलकी आमा गोमाले भनिन्, 'किमो चढाउने, अन्य औषधि किन्नेलगायत गर्दा ३ लाख रुपैयाँभन्दा बढी खर्च भइसक्यो, अब कसरी उपचार गर्ने भन्ने चिन्ता छ ।' उनका अनुसार अहिले दोस्रो चरणको किमो चढाउने काम जारी छ ।
डेनियलको निरन्तर उपचार गर्न सकिएमा दुई/तीन वर्षमा राम्रो सुधार हुने चिकित्सकले बताएका छन् । छोराको उपचारकै लागि घिमिरे दम्पती भरतपुरमै मासिक १२ हजार कोठा भाडा तिरेर बस्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका घिमिरे परिवारलाई अहिले किमो चढाउने, औषधि किन्ने र कोठाभाडा र खानपानको खर्च टार्न धौ धौ परेको छ ।
डेनियलको उपचारका निम्ति इच्छुक व्यक्ति/संस्थाले उनको बैंक खाता र सिधा परिवारजनलाई सम्पर्क गरेर सहयोग गर्न सकिने जनाइएको छ । खातावालाको नाम डेनियल घिमिरे, गरिमा विकास बैंक लिमिटेड, भरतपुर चितवन शाखा, खाता नम्बर ०३६११३०१२२९७१००००००१ रहेको छ । पीडितका बुबाआमा विनोद र गोमा घिमिरेलाई सिधैं ९८४४६०४५९० र ९७०३६३१६२८ मा सम्पर्क गर्नसमेत सकिन्छ ।