काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ जना मन्त्रीले शपथ लिएका छन् । सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
त्यसअघि आजै बिहान प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका थिए । ओली नेतृत्वको नयाँ मन्त्रिमण्डलमा एमाले र कांग्रेससहित ४ दलका मन्त्री रहेका छन् ।
गत असार १७ गते बनेको कांग्रेस–एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ । जसअनुसार कांग्रेसका १०, एमालेका ८, जसपाका २ र लोसपाको तर्फबाट १ जना मन्त्री बनेका छन् । प्रधानमन्त्री ओलीले प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्री नियुक्त गरेका छन् ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्रमन्त्री डा आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले पद तथा गोपनीयताको शपथ लिए ।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही रहेका छन् ।