पोखरा । तमु धीं नेपालका संस्थापक अध्यक्ष कर्म तमुद्वारा वैवाहिक वर्षगाँठको अवसरमा स्थापित तथा फोनिज कास्कीमार्फत सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार खेम सारुमगर सम्मानित भएका छन् ।
फोनिज कास्कीको आयोजनामा शनिबार पोखराको नयाँ बजारस्थित तमु धींमा भएको ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०८१ अर्पण कार्यक्रममा फेटा, भांग्रा, प्रमाणपत्र र नगद प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ र कर्म तमुले सम्मान गरेका थिए ।
मगर रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरा मालेपाटनमा विगत तीन दशकदेखि कार्यरत छन् । पुरस्कारले आफूलाई थप जिम्मेवारी र ऊर्जा मिलेको सारुमगरले बताए । नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठले उनीबारे बोलेका थिए ।
प्रदेशसभा सदस्य गुरुङले गुरुङ र मगर भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले क्यबिनेटबाट पास गरिसकेको सुनाए । यसको ऐन बनाएर सुरुआत गर्न मात्र बाँकी रहेको उनको भनाइ थियो । गण्डकी प्रदेशमा १८ प्रतिशत मगर र ९ प्रतिशत गुरुङले मात्रृभाषा बोल्दै आएका छन् । कार्यक्रममा तमु धींका संस्थापक अध्यक्ष कर्म तमु र फोनिजका संघीय सल्लाहकार हुमबहादुर तमुले समग्र आदिवासी जनजातिको अधिकारका लागि निष्पक्ष कलम चलाउने विश्वास व्यक्त गरे ।
फोनिज कास्कीका अध्यक्ष पञ्च सुब्बा (दिल प्रसाद) गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य बिनाकुमारी थापा मगरले राखेकी थिइन् । सचिव सुशील श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । यसअघि उक्त पुरस्कारबाट पत्रकारहरू रिता गुरुङ, तिलक पुनमगर, हर्क आलेमगर, राजबहादुर गुरुङ, शान्ति गुरुङ, एमबी आस्था मगर, हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य, रुद्र श्रीसमगर र दीपेन्द्र श्रेष्ठ सम्मानित भइसकेका छन् ।