लन्डन। बेलायतमा सम्पन्न आमनिर्वाचनमा विपक्षी लेबर पार्टीले पहिरो नै चलाइदिएको छ । लेबर पार्टीको सरकार बन्ने संख्याभन्दा पनि बढी स्थान हासिल गरिसकेको छ ।
सर केयर स्टारमर बेलायतको नयाँ प्रधानमन्त्री बनिसकेका छन्। कन्जरभेटिभ पार्टीले शताब्दीकै नराम्रो हार बेहोर्नुपरेको छ। लेबरले ४१२ सिट, कन्जरभेटिभले १२१ सिट, लिबरल डेमोक्रेटले ७१, एसएनपीले ९ सिट र अन्य ३५ सिट हासिल गरेको छ ।
यस पटकको निर्वाचनमा नेपाली र भूपू ब्रिटिस गोर्खाहरू खुलेर नै चुनावको प्रचारप्रसारमा लागेका थिए । अल्डरसट र फार्नबोरो कन्जरभेटिभको बलियो पकड भएको क्षेत्र हो र यहाँ भूपू गोर्खाहरूको बाक्लो बस्ती रहेको छ । गत १०९ वर्ष लगातार कन्जरभेटिभले एकक्षत्र जितिरहेको ठाउँमा पहिलो पटक लेबरका अलेक्स बेकरले अत्यधिक मतले विजय हासिल गरेका छन् । अलेक्स चुनावमा मत माग्ने क्रममा आफूले जितेमा गोर्खाहरूको असमानताबारे पार्टीसँग छलफल गरेर सुल्झाउने आश्वासन दिएका थिए ।
अब लेबर पार्टीबाट भूपू गोर्खाहरूले के आशा गरेका छन् त ?
ग्रेटर रशमोर नेपाली कम्युनिटीका वरिष्ठ उपाध्यक्ष उत्तरबहादुर गुरुङ भन्छन्, ‘चुनावको सुरुमा भेट्रेनबाट इन्डोर्सका लागि अफर गरेको थियो मलाई । मैले सक्दो सहयोग गरेँ । भूपू गोर्खाहरूको बारेमा पनि जाने बुझेको सबै बताएँ । प्रचारप्रसारको दौरानमा पार्टी लिडर स्टारमरलाई पनि भेटेँ र छोटो कुराकानी भयो । म एकदमै आशावादी छु । लेबर सरकारले चलिरहेको वार्ताको टुंगो लगाउने छ ।’
यस्तै, भूपू ब्रिटिस गोर्खाहरूका हकहितका लागि दुई पटक भोग हडताल बसेका योद्धा ज्ञानराज राई पनि लेबर पार्टीको जितमा खुशी छन् । उनी भन्छन्- ‘लेबर पार्टीले जितेकोमा अति खुशी छु । उत्साहित छु । २०-३० जना एमपीहरूसँगको भेटमा के पाए भने, उनीहरू हाम्रो असमानताबारे चासो राखेर कुरा गर्न चाहन्छन् । दुई सरकारबीचको राजनीतिक कुरा हो । मिनिस्टर लेभलमा कुराकानी गरेर टुंगो लाग्नेछ भन्ने आशा राख्छु ।’
ग्रेटर रशमोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष साथै बीजीडब्लूएसका सक्रिय सदस्य ओमप्रसाद थापा काउचाले पनि लेबरले विगतमा गोर्खाका लागि गरेको कामबाट प्रभावित भएर जिताएको बताए । ‘लेबरले विगतमा गोर्खाहरूका लागि गरेका कामबाट प्रभावित भएर नै यस पटक चुनावमा लागियो र जितायौँ पनि । अलेक्स बेकरले हामीलाई बचन दिएको छ । वार्ताको माहौल बनाउँछु, भनेको छ। लेबरका नेता स्टारमरलाई पनि भेट्ने मौका पाएँ। गोर्खाहरूको समस्याबारे जानकारी भएको बुझियो। मेरो इमिग्रेसनको प्रश्नको उत्तरमा उनले तुरुन्त एजेन्डा राखेर समाधान गर्ने भनेका थिए। यो प्रसंग एप्लाई गर्न पाउने तर अपिल गर्न नपाउनेबारे टोरी पार्टीले गरेको गल्ती काम औँल्याएको थिए ।"
ब्रिटिस गोर्खा भेट्रेनस डायलग कमिटिका संयोजक मे. रि. जुदबहादुर गुरुङले पनि श्वास रहुन्जेल आस हुने प्रतिक्रिया दिए । ‘श्वास रहुन्जेल आशा त भइहाल्छ। तर लेबर पार्टी गोर्खा मुद्दामा धेरै सकारात्मक छन्। लेबरका धेरै स्याडो मिनिस्टरसँग भेट भइसकेको छ । हाम्रो काम ढोका ढकढक्याउने हो। त्यो गरिरहेका छौँ । अब आशा अलि बढी भएको छ।"
यस चुनावको परिणामसँगै कन्जरभेटिभ पार्टीको १४ वर्ष लामो यात्रा सकिएको छ। टोरी लिडर ऋषि सुनकले हार स्विकार्दै राजीनामा दिई राष्ट्रको नाममा अन्तिम सम्बोधन गरिसकेका छन् ।
लेबरका नेता तथा ५८औँ ब्रिटिस प्रधानमन्त्री सर स्टारमर राजा चार्ल्सलाई भेटेर आफ्नो कार्यलय १० डाउनिङ स्ट्रिट फर्किसकेका छन् ।
उनले राष्ट्रको नाममा पहिलो सम्बोधन गर्दै भूपू प्रधानमन्त्री सुनकलाई धन्यवाद दिँदै राष्ट्र पहिलो र पार्टी दोस्रोमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘हाम्रो काम जरुरी छ र हामी आजबाटै सुरु गर्छौं,’ उनले भने । शुक्रबार नै क्याबिनेट मिनिस्टरहरूको नाम घोषणा हुनेछ।