पोखरा । पोखराको सहारा बाल आधारभूत विद्यालयलाई सहारा क्लब पोखराका पूर्वअध्यक्ष तथा जिल्ला खेलकुद समिति कास्कीका कार्यवाहक अध्यक्ष केशवबहादुर थापाको संयोजकत्वमा १ लाख ४ हजार रुपैयाँको १२ सेट डेस्क बेन्च र १ सेट कुर्सी टेबल प्रदान गरिएको छ ।
बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त सामग्री प्रदान गरिएको हो । स्वागत मन्तव्यका क्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले दैनिक ज्याला मजदुरी गर्ने अभिभावकका २७० बालबालिका अध्ययन गर्ने विद्यालयमा सहयोग गरेको भन्दै दाताहरूलाई धन्यवाद दिइन् ।
पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा फर्निचर सहयोग संकलन कार्यक्रमका संयोजक केशवबहादुर थापाले सहयोगी दाताहरूको विवरण सुनाएका थिए ।
उनका अनुसार क्यानाडामा रहेका सञ्जिव र सोनाम थापा तथा अतित र कुसुम गुरुङ, रोहन आलेमगर अस्ट्रेलियामा रहेका दिया राई, ईश्वर जलारी, प्रेणा र राजेश मल्ल ठकुरीले सहयोग गरेका छन् ।
यसैगरी, बेलायतका हिमाल थापामगर, दिपिका र पृथ्वीराज राई, अमेरिकामा रहेका सिद्धार्थ थापामगर, भारतीय सेनामा कार्यरत भूपेन्द्रजङ राना र उनकी धर्मपत्नी अनिता राना, पोल्यान्डमा रहेका आशिष राना तथा दक्षिण कोरियाका मनोज र सरिता रानाको सहयोगमा कार्यक्रमले मुर्त रूप पाएको भन्दै उनीहरूलाई धन्यवाद दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीको अध्यक्षता रहेको कार्यक्रममा वडा नम्बर ९ का सचिव कुलराज पौड्यालले राज्यले पनि शिक्षालाई नीतिगत रूपमा नै प्राथमिकतामा राख्नुपर्ने बताए । प्रमुख अतिथि मर्सानीले विद्यालयको भौतिक पक्ष र शैक्षिक गुणस्तर वृद्धिमा स्थानीय तहले सम्भव भएसम्म सहयोगका लागी तत्पर रहेको बताए । विद्यालयको गतिविधिप्रति खुशी व्यक्त गर्दै दातालगायत विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गरे ।
विद्यालयका शिक्षक सुदिप कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए । समापनका क्रममा अध्यक्ष थकालीले विद्यालयको शैक्षिक पाटोलाई पनि जोड दिँदै उत्कृष्ट बनाउन शिक्षक, कर्मचारी र सरोकारवाला सबैको प्रत्यक्ष एवं अप्रत्यक्ष चिन्ता र चासोले रहेमा उल्लेख्य नतिजा हासिल गर्न सकिने बताए ।