कोलम्बो । कोलम्बो प्लानको सहकार्यमा राधा पौडेल फाउन्डेशन र दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी संजालको सहकार्यमा श्रीलंकाको राजधानी कोलम्बोमा ५ दिनको मर्यादित महिनावारी अन्तर्राष्ट्रीय प्रशिक्षक तालिदेखि जुलाई १ सुरु भएको छ ।
महिनावारी विभेद अन्त गरी महिनावारीलाई कसरी मर्यादित बनाउने भन्ने विषयमा केन्द्रित सो तालिमको नेतृत्व नेपालले गरेको हो । राधा पौडेल फाउन्डेशन र दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी संजालका संस्थापक डा राधा पौडेलको नेतृत्वमा सचालन गरिएको तालिममा १४ देशका २६ जनाको सहभागिता छ । तालिममा नेपाल, भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, सुडान, फ्रान्स, फिलिपिन्स, नेदरल्यान्डस लगायतका देशहरुका प्रतिनिधीहरु सहभागी भएका छन् ।
तालिममा नेपाल लगायत विश्वभरि रहेको महिनावारी विभेदलाई थप उत्खनन गरी महिनावारीलाई कसरी मर्यादित बनाउने भन्ने विषयमा गहन छलफल गरीने संयोजक डा पौडेलले बताएकी छन् । 'मर्यादित महिनावारी सबै क्षेत्रमा काम गरिनुपर्ने विषय हो,' पौडेलले भनिन् । तालिममा सरकारी, संयुक्त राष्ट्रसंघीय कार्यक्रम, गैर सरकारी संघ संस्था, निजी क्षेत्र, संचारमाध्यम सबैको सहभागिता रहेको उनले बताइन् ।
जुलाई १ देखि ५ सम्म संचालन गरिने तालिममा अन्तर्राष्ट्रिय प्रशिक्षक प्रशिक्षण तालिम पुस्तिकासमेत विमोचन गरिने छ । मुख्यत: क्षमता अभिवृद्धि, प्राविधिक सहयोगको क्षेत्रमा केन्द्रित कोलम्बो प्लानले पहिलो पटक मर्यादित महिनावारीमा सहकार्य गरेको हो । सन् १९५१ मा स्थापना भएको कोलम्बो प्लानमा नेपाललगायत २८ राष्ट्रहरु सदस्य रहेका छन् । संस्थाको सचिवालय श्रीलंकाको राजधानी कोलम्बोमा रहेको छ । डा पौडेलको साथ फाउन्डेशनका सपना पौडेल, लाल चलाउनी, उषा पौडेल, राधा पौडेल फाउन्डेशनको मिडिया पार्टनर नेपाल एफएमका प्रोग्राम डाइरेक्टर, प्रस्तोता एवम् संचारकर्मी गोबिन्द खड्का र बेलायतबाट फाउन्डेशनमा ईन्टर्न गरिरहेकी बेजिङ्गस्टोक निवासी निनम्मा लिम्बु श्रीलंका गएका छन् ।