काठमाडौँ । डा. हर्क गुरुङ प्रतिष्ठान नेपाललाई लमजुङ समाज युकेले १५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । शनिबार उक्त रकम बराबरको चेक लमजुङ समाज युकेका अध्यक्ष दलबहादुर गुरुङले प्रतिष्ठानका अध्यक्ष एवं डा. गुरुङका भतिज तिलबहादुर गुरुङलाई हस्तान्तरण गरे ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका-७, ताङ्लीचोकस्थित डा. गुरुङको समाधीस्थलमा हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो । भूगोलविद् डा. हर्क गुरुङको नाममा स्थापना गरिएको प्रतिष्ठानले उनको स्मृतिमा विभिन्न संरचना निर्माणलगायत रचनात्मक कार्य गर्दै आएको छ ।
कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, तमु हृयुल छोज धीं (गुरुङ राष्ट्रिय परिषद्) केन्द्रीय सल्लाहकार गर्जबहादुर गुरुङ, उत्तरी भेग तमु समाजका अध्यक्ष मणिप्रसाद गुरुङ, भूगर्भविद् डा. हेमनाथ घिमिरे, बाघेता समाज युकेका सचिव प्रेमबहादुर गुरुङ, राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरे, जनप्रतिनिधि, गाउँस्थित मनास्लु तमु आमा समाजका पदाधिकारी–सदस्यलगायत थिए ।
२०६३ असोज ७ गते ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सामा कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यक्रमबाट फर्किने क्रममा भएको हेलिकप्टर दुर्घटनामा डा. गुरुङसहित २४ जनाको मृत्यु भएको थियो । प्राप्त रकम ताङ्लीचोकमा संरचना निर्माणलगायतमा खर्च गरिने प्रतिष्ठानका अध्यक्ष गुरुङले बताए । उनले आर्थिक सहयोग गर्ने युकेवासी लमजुङेहरूलाई धन्यवाद तथा आभार प्रकट गरे ।
ताङ्लीचोकमा डा. गुरुङको सालिकसहितका संरचना निर्माण गरिएका छन् । प्रतिष्ठानले हालसम्म ५ रोपनी १२ आना ३ पैसा २ दाम जग्गा प्राप्त गरेको छ । कुल ६ करोड ३१ लाख ९९ हजार रुपैयाँको ‘स्व. डा. हर्क गुरुङ स्मृति पार्क’ को विस्तृत योजना निर्माण गरेको र यसका लागि ३० रोपनी जग्गा व्यवस्थापन गर्नुपर्ने देखिएको प्रतिष्ठानले जनाएको छ ।
डा. गुरुङको अन्तिम संस्कार गरेको स्थानमा प्रतिष्ठानले उनको अर्धकदको सालिकसहित संरचना निर्माण गरिरहेको छ ।