काठमाडौँ । नेपालका सातै प्रदेशले शनिबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनजस्ता विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट ल्याएका हुन् ।
सुदूरपश्चिम प्रदेश सकारले ३१ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले चालु आर्थिक वर्षभन्दा करिब २ अर्ब बढाएर बजेट प्रस्तुत गरेका हुन् । जसमा चालुतर्फ ११ अर्ब ७ करोड १९ लाख र पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख रुपैयाँ छन् ।
कर्णाली प्रदेश सरकारले भने ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले चालु आर्थिक वर्षभन्दा झन्डै २ अर्ब घटाएर बजेट ल्याएका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख र पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख रहेको छ ।
गण्डकी प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिलामन्त्री टकराज गुरुङले चालु आर्थिक वर्षभन्दा ४५ करोड रुपैयाँ घटाएर बजेट ल्याएका हुन् । चालु आर्थिक वर्षमा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी, लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षभन्दा घटाएर बजेट प्रस्तुत गरेका हुन्। कुल बजेटमध्ये चालु खर्चतर्फ ११ अर्ब २४ करोड २७ लाख र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख विनियोजन गरेका छन् ।
यस्तै, बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले शनिबार प्रदेशसभामा आगामी आर्थिक वर्षका बजेट प्रस्तुत गरेका हुन्। गत वर्ष प्रदेश सरकारले ६२ अर्ब ७० करोड ९० लाखको बजेट ल्याएको थियो। थपलियाले कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब १० करोड १७ लाख र पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको बताए ।
उता, मधेश प्रदेशले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री भरत साहले चालुतर्फ १६ अर्ब सात लाख एक हजार र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार विनियोजन गरेको जनाए । यो बजेट चालु आर्थिक वर्षको तुलनामा ०.५ प्रतिशतले कम हो ।
र, कोशी प्रदेश सरकारले पनि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे । कोशीको बजेट पनि चालु आर्थिक वर्षभन्दा करिब एक अर्ब रुपैयाँ घटेर आएको छ । मन्त्री मगरले कुल विनियोजनमध्ये चालु खर्च १४ अर्ब ४७ करोड २३ लाख र पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख रुपैयाँ खर्च हुने बताए ।