पोखरा । पोखराको बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयका विद्यार्थीलाई ट्र्याक सुट वितरण गरिएको छ ।
शुक्रबार एक कार्यक्रमबीच प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले विद्यालयमा अध्ययनरत २७० विद्यार्थीलाई ट्र्याक सुट प्रदान गरे । सो अवसरमा नवनियुक्त मन्त्री थापालाई स्वागत तथा बधाई ज्ञापन गरिएको थियो ।
याक यति याक, बाथ युकेका सञ्चालक तथा समाजसेवी शेरा गुरुङको आर्थिक सहयोगमा उपलब्ध ट्रयाकसुट र टिसर्ट वितरण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विक्रम थकालीले बताए ।
कार्यक्रममा मन्त्री थापाले भविष्यमा पोखरा बसपार्क निर्माणले मूर्त रुप लिँदा विद्यालयलाई अन्यत्र स्थानन्तरण गर्नुपर्ने अवस्था आएमा सबैले साथ र सहयोग गर्नुपर्ने बताए ।
विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा पृथ्वीचोक बसपार्क टोल विकास समितिका अध्यक्ष केशवबहादुर थापा, शितलादेवी सामुदायिक माविका व्यवस्थापन समिति अध्यक्ष टिकाबहादुर कार्की र पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले मन्तव्य राखेका थिए ।
सोही अवसरमा विद्यालयका संस्थापक तथा समाजसेवी गोपाल गुरुङलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रमका अतिथि सहारा युकेका सल्लाहकार भोज गुरुङले विद्यालयलाई १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए ।
चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली शर्माले सहारामा अध्ययनरत ४५ जना विद्यार्थीलाई प्रदान गर्ने विद्यालय पोसाक पनि प्रमुख अतिथिको हातबाट वितरण गरी शुभारम्भ गरेका थिए । ट्रायाक सुटदाता समाजसेवी याक यति याक, बाथ का सञ्चालक शेरा गुरुङका दाजु भूपाल गुरुङले पनि ट्र्याक सुट वितरण गरेका थिए ।
शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रम समापनका क्रममा व्यवस्थापन समिति अध्यक्ष थकालीले पोखराको केन्द्रमा रहेर पनि विद्यालय राज्यको नजरमा पछाडि रहेको बताए । ट्र्याक सुटदाता शेरा गुरुङप्रति आभार प्रकट गर्दै, अतिथिहरूको उपस्थितिले कार्यक्रम सफल भएकोमा धन्यवाद व्यक्त गरे ।