कास्की । पोखरामा पशुपक्षीको उपचारका लागि सुविधासम्पन्न मोडेल भेटेरिनरी अस्पताल सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–१२ मा नवनिर्मित अस्पतालले बुधबारदेखि सेवा दिन थालेको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले नवनिर्मित अस्पताल भवनबाट कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरी सेवा प्रवाह सुरु गरिएको जानकारी दिए । शिविरमा ६३ कुकुरको बन्ध्याकरण गरिएको थियो । पशुपक्षी रोग अन्वेषण प्रयोगशालाका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डा. किरण पाण्डे, भेटेरिनरी अस्पतालका चिकित्सक डा. अनन्त कोइराला, डा. आशिष गौतम, पोखरा महानगर पशु सेवा शाखाका प्रमुख डा. आरोश विक, डा. पवन पाण्डे, डा. प्रियंका कोइरालालगायतको टोलीले शिविरमा उपचार सेवा दिएको थियो ।
यससँगै सुविधासम्पन्न पशुपक्षी अस्पतालबाट सेवा प्रवाह गर्ने आफूहरूको चाहना पूरा भएको कार्यालयप्रमुख पाण्डेले बताए । प्रदेश सरकारको ६ करोड ४४ लाख लगानीमा अस्पताल भवन निर्माण गरिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका चिकित्सक डा. अनन्त कोइरालाले अस्पताल भवनबाट अन्तरंग, बहिरंगसहितका सेवा प्रदान गरिने बताए । अस्पतालमा प्रयोगशाला, शल्यक्रिया कक्ष, फार्मेसी, रेडियोलोजिकल ल्याबलगायतका सुविधा छन् । यसैगरी पशुपक्षी, माछा, घरपालुवा जनावरको उपचारका लागि छुट्टाछुट्टै कक्ष राखिएको छ । आगामी दिनमा अस्पताललाई गण्डकी प्रदेशको पशुपक्षी उपचारको रेफरल अस्पतालका रूपमा विकास गर्ने उनको भनाइ छ ।