पोखरा। गण्डकी प्रदेश सरकारले ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममार्फत पोखरालाई केन्द्रमा राखेर उक्त अभियान चलाउने जनाएको हो ।
नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधीकरण, वैकल्पिक पदमार्ग निर्माण, हिमाल आरोहणको प्रवर्द्धन, पर्यटकको सेवा तथा सुविधा विकास र विस्तार गर्ने सरकारको योजना छ । प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख डिल्लीराज भट्टले सार्वजनिक–निजी साझेदारीमार्फत पर्यटकीय पूर्वाधार निर्माण, पर्यटकीय उपजको पार्श्वचित्र निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ र प्रचारप्रसारमा जोड दिइने बताए ।
सरकारी तथा निजी क्षेत्रको समन्वय र सहभागितामा विभिन्न सांस्कृतिक तथा व्यापारिक मेला, जात्रा तथा सम्मेलनको आयोजना र सञ्चालन, घरबास, सङ्ग्रहालय, कोसेली घर, उद्यान, मानव निर्मित पर्यटकीय गन्तव्यमार्फत पर्यटनलाई आन्तरिक उत्पादन र रोजगारीसँग आबद्ध गरिने जनाइएको छ ।
‘राउन्ड फेवाः भ्यु फेवा’ कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिइने उल्लेख गरिएको छ । पर्यटकीय क्षेत्र ढोरपाटन र गजेन्द्र मोक्षधामको एकीकृत विकास गुरुयोजना तयार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
पदयात्रा तथा साइक्लिङका लागि उपयुक्त ठाउँको पहिचान गरी वैकल्पिक मार्गको व्यवस्था गरिने भनिएको छ । गोरखाको मनासलु लार्केपास– मनाङ–मुस्ताङ र कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्रलाई उत्कृष्ट पदमार्गको रूपमा विकास गरिने सरकारको योजना छ ।
धार्मिक, सांस्कृतिक, आध्यात्मिक, ध्यान, योग, साहित्यिक, साहसिक, खेलकुद पर्यटनको विकास गरिने सरकारको तयारी छ । मुक्तिनाथ, विन्दवासिनी, मनकामना, गोरखकाली, गोरखनाथ, गलेश्वर, बागलुङ कालिका, भैरवस्थान, पञ्चकोट, पञ्चासे, डहरे देउराली, आलमदेवी, नुवाकोट कालभैरव, देवघाट, मौलाकालिका, गलेश्वर आश्रम, महेश आश्रम, हरिहर सन्न्यास आश्रम, केदारेश्वर धाम, लमजुङ कालिकालगायत प्रमुख धार्मिकस्थलको प्रवर्द्धनका लागि विशेष पहल गरिने उल्लेख छ ।
सरकारले नीति तथा कार्यक्रममा वैकल्पिक पदमार्गको विकाससँगै समग्र पर्यटन क्षेत्रका विषयलाई समेट्न खोजेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । सरकारले धवलागिरि क्षेत्रलाई संरक्षण क्षेत्रका रूपमा विकास गर्दै त्यहाँ पदयात्रा पर्यटन लक्षित पूर्वाधार विकास गर्नु जरुरी भएको उनले बताए ।