लन्डन । भूतपूर्व गोर्खा मुद्दामा बेलायत सरकार र नेपाल सरकारबीच प्राविधिक स्तरको वार्ता सम्पन्न भएको छ । ब्रिटिस गोर्खाका प्रतिनिधि, लन्डनस्थित नेपाली दूतावासका प्रतिनिधि र बेलायतको रक्षा मन्त्रालयका प्रतिनिधिबीच वार्ता भएको हो ।
रक्षा मन्त्रालयको भवन लन्डनमा मंलगबार (११ जुन) बिहान १०:३० मा सुरु भएको वार्ता १२ बजे सकिएको थियो ।
वार्तामा लन्डनस्थित नेपाली दूतावासका तर्फबाट डेपुटी चिफ अफ मिसन रोशन खनाल, मिलिटरी एट्याटी कर्णेल अनुप साह, गोर्खाका तर्फबाट मेजर जुद्धबहादुर गुरुङ, मेजर टिकेन्द्रदल देवान जेपी, मेजर उदयबहादुर गुरुङ एमबीई, धर्मबहादुर तामाङ र कृष्णकुमार राई सहभागी थिए ।
यस्तै, एमओडीका तर्फबाट हेड आर्म फोर्स अफ पेन्सन स्किमका क्रिस्टफोर सिल्क, दुई जना लिगल एड्भाइजर, चार जना पोलेसी एड्भाइजर, कर्नेल ब्रिगेड अफ गोर्खाज्का कर्नेल डेभिड रविन्सन रहेका थिए । कर्नेल भने भर्चुअल माध्यमबाट जोडिएका थिए ।
सहभागीहरूका अनुसार वार्ता निकै नै सौहार्दपूर्ण वातावरणमा भएको थियो । वार्तामा बेलायतको पक्षबाट लिगल एड्भाइजर आउनेबारे नेपाली पक्षलाई अन्तिम समयमा मात्रै जानकारी गराइएको थियो । नेपाल पक्षबाट लिगल एड्भाइजर टोलीमा कोही पनि सहभागी थिएनन् । तर गोर्खा पक्षबाट कानुनी कुराको प्रशंगमा गर्विलो प्रितउत्तर दिन सकेको वार्ताकारहरूले बताएका छन् ।
सो क्रममा पेन्सन र वेल्फेयरका बारेमा छलफल भएको थियो । आफूले पेन्सनसम्बन्धी नौ वटा बुँदा मौखिक रूपमा प्रस्तुत गरेको र समय अभावका कराण त्यसलाई लिखित रूपमा पनि बुझाएको वार्तामा सहभागी मेजर देवानले जानकारी दिए । गोर्खाका अरू प्रतिनिधिले पनि पेन्सनमा र वेल्फेयरमा भएको असमानताबारे कुरा राखेका थिए । वार्तामा नेपाल सरकारको प्रस्तुति सन्तोषजनक रहेको थियो।
कानुनले नै अप्ठ्यारो परेको हुनाले कार्ययोग्य र प्रस्तावयोग्य प्रस्तुति भएमा समस्या समाधानतिर जान सकिने ब्रिटिस सरकार पक्षको भनाइ रहेको एक वार्ताकार मेजर देवानले बताए । राजनीतिक समाधानले नै अन्तिम विकल्पमा पुग्न सकिने कुरा दुवै पक्षले स्वीकारेका थिए । अब बेलायतमा नयाँ सरकार गठन भएपछि मात्र वार्ता निष्कर्षमा पुग्ने सम्भावना रहेको अर्का वार्ताकार धर्मबहादुर तामाङले बताए ।
गोर्खा समस्याबारे यसअघि पनि बेलायत र नेपाल सरकारबीच विभिन्न चरणमा वार्ता भइसकेको छ ।