पोखरा । पोखराको कोमागाने पार्क र बसुन्धारा पार्कमा साकुरा प्रजातिको फूल लगाइएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्य, प्रमुख प्रसाकीय अधिकृत श्यामकृष्ण थापा, इन्स्टिच्युट अफ हिमालयन कन्जरभेसन (आइएचसी) र क्युटो युनिभर्सिटी जापानका प्रोफेसर पाक्या शुमा लगायतले पोखरा–जापानमैत्री पार्क ‘कोमागाने’मा २३ वटा साकुरा लगाएका हुन् । पोखरा वडा नम्बर ६ र मितेरी आमा समूहको सक्रियतामा बसुन्धारा पार्कमा २५ वटा साकुरा लगाइएको छ । विश्व वातावरण दिवसको अवसर पारेर बिरुवा लगाइएको हो ।
पोखरा जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले पोखरा–जापान मैत्रीपार्क ‘कोमागाने’ मा जापानी राष्ट्रिय फूल ‘साकुरा’ लगाइएको नगरप्रमुख आचार्यले बताए । पोखराको हावापानीमा साकुरा फुल्ने प्राविधिक तथा वातावरणीय अध्ययनपश्चात् जापानबाट यो फुल ल्याइएको उनको भनाइ छ ।
प्रमुख आचार्यले साकुरा रोपणसँगै पोखरामा २ लाख २६ हजार बिरुवा रोप्ने ग्रिन पोखरा, क्लिन पोखराको मेगा प्रोजेक्ट सुरु भएको घोषणा समेत गरे । यस परियोजनाको शुभारम्भ सुखद भएको उल्लेख गर्दै उनले महानगर क्षेत्रमा सार्वजनिक स्थल, खुल्लाचौर तथा पाखा पखेरा, नदी तथा राजमार्ग किनार लगायत क्षेत्रमा विभिन्न प्रजातिका २ लाख २६ हजार बढी बिरुवा लगाउने योजना छ ।
प्रोफेसर शुमाले साकुरा हिमालयको काखमा फुल्ने सयौँ प्रजाति भएको सुन्दर फुलका रूपमा चित्रण गर्दै हिमालयको देश नेपालमा यसको विकास हुनु साकुरा आफ्नो घर फर्किएको रूपमा लिनुपर्ने बताए । साकुराका लागि पोखरामा उत्तम वातावरण रहेको उनको भनाइ छ ।
जापानबाट १०० साकुराका बिरुवा पोखरा ल्याइएको छ । केही बिरुवा रोप्न बाँकी रहेको र उपयुक्त स्थानमा ती बिरुवा लगाइने सहरी विकास, पर्यटन तथा वातावरण महाशाखा प्रमुख भरतराज पौडेलले बताए ।
साकुरालाई शान्तिको प्रतीक मानिन्छ । विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानले २३ देशका ३५ सहरमा साकुरा रोप्दै आएको छ । नेपालका गाउँ गाउँमा साकुरा रोपेर दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने चाहना उसको छ । नेपालमा पनि साकुरा हुर्कन सक्ने वातावरण भएकाले शान्तिको सन्देश फैलाउने उद्देश्य लिइएको हो ।