लन्डन । गुरुङ समुदाय र यस समुदायसँग नजिक संगीतप्रेमीले असाध्यै मन पराएको गीत हो, ‘कोइलम म्हि छ्याब' र 'गल्बन्दी चिनो'। साथीभाइ, घरपरिवारको भेटघाटदेखि नाचगान हुने मनोरञ्जनात्मक कार्यक्रममा धेरैको रोजाइमा पर्छन्, यी गीत । श्रोतामाझ जनजिब्रोमा झुन्डिएका यी गीतका गायिका हुन्, उषा गुरुङ। उनले दर्जनौँ गुरुङ र नेपाली गीतमा स्वर भरेकी छन् ।

कास्कीको मादी गाउँपालिका-८ नागिधार गाउँमा जन्मिएकी उषाको बाल्यकाल गाउँमै बित्यो । उनी सानैदेखि रेडियो सुन्न खुब मन पराउँथिन् । ‘फुर्सदको समयमा रेडियोको कान बटार्न थालिहाल्थेँ, कुन फ्रिक्वेन्सीमा गीत बजेको छ भनेर,’ उषाले हाँस्दै सुनाइन् ।
उनलाई गायिका अन्जु पन्तको आवाज असाध्यै मन पर्छ । अन्जुको ‘जिन्दगी यो फुलै, फुलको थुँगो हुँदैन’ सबैभन्दा मनपर्ने गीत हो ।रेडियोमा सुनेका गीत उनी आफ्नै सुरमा गुनगुनाउने कोसिस गरी रहन्थिन् ।

कक्षा ८ सम्म स्थानीय प्रभात निम्न माविमा र कक्षा ९ देखि १२ सम्म हिमालयन उच्च माविमा अध्ययन गरिन् । विद्यालयमा साथै गाउँमा हुने विभिन्न कार्यक्रममा गाउने गर्थिन् । ‘गीत गाउँदा सबैले हौसला दिनुहुन्थ्यो । त्यसैले पनि गाउनुपर्छ भन्ने भावना ममा बढ्दै गयो,’ उषाले भनिन् ।
संगीतसँगै पढाइलाई पनि निरन्तरता दिइरहेकी छन् । पोखरा विश्वविद्यालयमा स्नातकोत्तर तह अन्तिम वर्षमा अध्ययनरत छिन् । उषाले पोखरा आएपछि मात्र औपचारिक रूपमा संगीत सिकेकी हुन् ।
-1717594253.jpg)
गायनप्रति देखाएको मोह देखेका बुवाले २०७२ असोजमा पोखरा-११ रानीपौवामा रहेको जोजिजु म्युजिक सेन्टरमा संगीत सिक्न पठाए । जोजिजुमा उनले गायक तथा संगीतकार करण तामाङसँग भोकल क्लास लिइन् ।
उषाको बुझाइमा संगीत सुर र तालको मिलाप हो । उनी भन्छिन्, ‘यसले मन भित्रको भावना बोल्छ, सुखमा होस् या दुखमा संगीत साथी बन्न सक्छ । त्यसैले संगीत एउटा शक्ति पनि हो ।’ सांगीतिक क्षेत्रमा इमानदार भएर संघर्ष गर्नेलाई टिक्न गाह्रो नहुने उनको भनाइ छ । यद्यपि संगीतप्रतिको संघर्ष, साधना र धैर्यता भने आवश्यक पर्छ ।

कोइलम म्हि छ्याबमा चर्चित गीतकार तथा संगीतकार मनोज गुरुङको शब्द/संगीत तथा सुवास गुरुङ र उषा गुरुङले स्वर भरेका छन् । संगीत संयोजन तेजेन्द्र गुरुङले गरेका हुन् भने निर्माता देउकुमारी गुरुङ हुन् ।
२०७६ कात्तिकमा स्ट्रिम नेपाल नामक युट्युब च्यानलमार्फत उषाको पहिलो गुरुङ गीत ‘कोइलम म्हि छ्याब' को स्टुडियो भिडियो सार्वजनिक भएको थियो । जसलाई बच्चादेखि वृद्धसम्मले निकै रुचाएका थिए ।
उषाले हालै युकेका विभिन्न स्थानमा सांगीतिक प्रस्तुति दिएकी छन् । युकेवासी दर्शक तथा श्रोताको मायाका साथै सकारात्मक सल्लाह र प्रतिक्रियाका कारणले नै संगीतलाई निरन्तरता दिन प्रेरणा मिलेको उनको भनाइ छ । ‘यसैले नै युकेसम्म आएर विभिन्न संघ संस्थाहरूको आयोजना तथा नेपाली समुदायको उपस्थितिमा प्रस्तुति दिने अवसर मिलेको छ,’ उषाले भनिन् ।









