पोखरा । अन्नपूर्ण आरोहण दिवस, सोमबार पोखरामा प्रभात फेरीसहित विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना तथा टान गण्डकी प्रदेशको समन्वयमा ७४औँ आरोहण दिवस मनाइएको हो ।
पोखराको फिस्टेल गेट अगाडीबाट सुरु भएको प्रभातफेरी अम्बोट, गौरीघाँट, बाराहीघाट हुँदै वाराही खेल मैदानमा पुगेर समापन भएको थियो । सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पाइला टेकेको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष जुन ३ मा अन्नपूर्ण आरोहण दिवस मनाइँदै आइएको छ ।
दिवसका अवसरमा बिहान पोखराको फिस्टेल गेटदेखि बाराहीघाटसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतको सहभागिता थियो ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रूपमा विकास गर्ने लक्ष्यका साथ सरकार यहाँका पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धनमा लागेको बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले मौरिस हर्जोगको अन्नपूर्ण आरोहणले नेपाललाई पर्वतारोहण र साहसिक गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुर्याएको बताउनुभयो । पोखरा नेपालको पर्यटनको गहना भएको बताउँदै उनले गण्डकी प्रदेशमा पर्यटनका प्रचुर सम्भावना रहेको उल्लेख गरे ।
पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा यहाँ पर्यटन लक्षित गतिविधि र पूर्वाधार विकास अघि बढाउने विषय प्राथमिकतामा रहेको बताए ।
सो अवसरमा इजरायल, अमेरिका, थाइल्यान्ड, पाकिस्तान, चीनका राजदूतसहित कूटनीतिक नियोगका प्रतिनिधिको टोलीले फेवातालमा डुंगा सयर गरेका थिए ।
अन्नपूर्ण प्रथमको पहिलो पटक आरोहण गरेका मौरिस हर्जोगको शालिकको परराष्ट्रमन्त्री श्रेष्ठले अनावरण गर्नुका साथै अन्नपूर्ण हिमाल आरोहीलाई सम्मान गरेका थिए । शालिक हर्जोगले अन्नपूर्ण हिमाल आरोहण सुरु गरेको म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरमा राखिने छ ।