पोखरा । पर्यटकीय राजधानी पोखरामा श्रमाधान रोजगार मेला सुरु भएको छ । मेलाको सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रूपमा उद्घाटन गरे ।
मन्त्री अर्यालले रोजगारदाता कम्पनी र रोजगारको खोजीमा रहेकाको मिलनबिन्दुका रूपमा मेलाको भूमिका रहने बताए । ‘रोजगारीका अवसर सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धन गर्नेलगायत उद्देश्यसहित श्रमाधान रोजगार मेलाको आयोजना गरिएको हो,’ उनले भने, ‘नेपालको श्रम बजार र रोजगारबारे जानकारी तथा परामर्श लिने थलोका रूपमा यो मेलालाई लिन सकिन्छ ।’
मन्त्री अर्यालले कामको खोजीमा विदेश गएका युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने धारणा राखे । मन्त्री अर्यालले श्रम क्षेत्रका समस्या समाधानका लागि मन्त्रालयमा स्तरीय श्रमाधान कल सेन्टर स्थापना गरिएको जानकारी दिए । पैसा नलाग्ने फोन नम्बर ११४१ फोन गरेर जोकोहीले आफ्ना समस्या, सुझाव तथा गुनासा राख्न सक्ने उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले रोजगार अभाव मुलुकको प्रमुख समस्या रहेको बताए ।
मुख्यमन्त्री पाण्डेले एकैसाथ ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सक्ने निजी क्षेत्रलाई लगानीमा आकर्षण गर्न लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रोजगारदाता र रोजगार गर्न चाहानेहरुबीचमा परामर्श र सूचना आदानप्रदानका लागि मेला महत्त्वपूर्ण रहने बताए ।
उत्पादन, श्रम र रोजगारमा निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ । मेलामा ४१ वटा रोजगारदाता संस्था/कम्पनीका कक्ष रहेका छन् । मेला अवलोकनका लागि युवा, विद्यार्थीलगायतको भीड लागेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र पोखरा महानगरपालिकाद्वारा आयोजित उक्त मेला मंगलबारसम्म सञ्चालन हुनेछ । मेलामा उद्योग, व्यापार, पर्यटनलगायत विषयमा समूहगत छलफलसमेत आयोजना गरिएको छ ।
छलफलमा सम्बन्धित क्षेत्रका विज्ञसहित रोजगारदाता संस्थाका प्रतिनिधि सहभागी हुनेछन् । यही जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला गण्डकीसहित सातै प्रदेशमा सञ्चालन हुनेछ ।