काठमाडौँ । बेलायतको म्यानचेस्टरमा आयोजित ‘वुमन अफ द वल्र्ड फेस्टिभल’मा सहभागी भएर काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल स्वदेश फर्किएकी छन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेस्टिभलका विषयमा कुरा गर्दै उनले आउँदो नोभेम्बरमा काठमाडौँले पनि फेस्टिभल आयोजना गर्ने बताइन् ।
‘विश्वका महिलाहरूको पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत विविध आयामबाट अवस्था बुझ्ने अवसर प्राप्त भयो । वास्तवमा यो अपूर्व अवसर थियो,’ डंगोलले भनिन्, ‘अवस्थालाई अवसरमा रूपान्तरण गरिएका कथा हाम्रा लागि सिकाइ बनेका छन् । यो सिकाइलाई महिलाको सार्थक र सक्रिय सशक्तीकरणका लागि उपयोग गर्छौं ।’
सम्मेलनमा संगीत, कला, साहित्य, राजनीति, अभियन्ता, लेखकसहित विभिन्न क्षेत्रका विश्व स्तरका वक्ताहरूलाई आमन्त्रण गरिएको थियो । राजनीति क्षेत्रको प्रतिनिधित्व गर्दै अस्ट्रेलियाकी पहिलो महिला प्रधानमन्त्री जुलिया गिलर्ड र उपप्रमुख सुनिता डंगोलले विचार राखेका थिए । फेस्टिभलको संवाद सत्रमा उनीहरूसँग ‘वुमन अफ द वल्र्ड’अभियानकी संस्थापक जुड केलीले संवाद गरेकी थिइन् ।
संवादमा परिस्थिति र प्रतिकुलताबाट उठ्नका लागि गर्न सकिने सहभागितामूलक कामका विषय समेटिएका थिए । संवादमा उपप्रमुख डंगोलले, नेपाली राजनीतिमा महिला सहभागिता बढ्दै गएको बताइन् ।
सम्मेलनपछि द ब्रिटिस एकेडेमी, ब्रुनल युनिभर्सिटी, रोयल जिओग्राफिकल सोसाइटीसहित विभिन्न संघसंस्थाले आयोजना गरेको ‘इन्डिजिनाइजिङ द हिमालयज’कार्यक्रममा सहभागी भएकी थिइन् । नेपालका हिमाली क्षेत्रका तस्बिर देखेर बनाइएका गलत धारणा र प्रचारलाई सुधार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदै उनले नेपाली संस्कृतिको उचाइलाई घट्न नदिन सबै प्रकारका प्रयास गरिरहनु पर्ने बताइन् ।
यस क्रममा अक्सफोर्ड विश्वविद्यालयमा ‘सहरीकरणको अभ्यास: अवस्था र आवश्यकता’ विषयमा काठमाडौँको प्राचीनता जोगाउन र आधुनिक आवश्यकता पूरा गर्न महानगरपालिकाले गरेको प्रयासबारे प्रस्तुतीकरण गरेकी थिइन् ।
ब्रिटिस काउन्सिलको निमन्त्रणामा उनी फेस्टिभलमा सहभागी हुन गएकी हुन् । म्यानचेस्टर सहरको अभोभा स्टुडियोमा जेठ ११ मा सुरु भएको आइतबार सकिँदै छ ।
स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका महिलाबीच अन्तर्क्रिया र अनुभव आदानप्रदान हुने फेस्टिभल हरेक वर्ष आयोजना हुने गरेको छ । यो सन् २०११ मा लन्डनको साउथ बैंकबाट सुरु भएको हो । यसअघिका कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्वप्रख्यात महिलाले वक्ताका रूपमा सहभागी भइसकेका छन् ।
लैंगिक समानता र समावेशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य रहेको छ ।