लन्डन । धम्पुस पोखरी घोताने परिवार युकेको अध्यक्षमा भगवान गुरुङ चयन भएका छन् । तमु धीं युकेको भवनमा शनिबार १ जुन २०२४ सम्पन्न १४औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनले भगवानलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा आइबहादुर गुरुङ, दोस्रो उपाध्यक्षमा रामबहादुर गुरुङ, महासचिवमा मिलन गुरुङ, सहसचिवमा ध्रुव गुरुङ, कोषाध्यक्षमा टिका (बोता) गुरुङ, सह कोषाध्यक्षमा अमृतमान गुरुङ, सांस्कृतिक संयोजकमा पूर्णबहादुर गुरुङ, सहसंयोजकमा पवित्र गुरुङ र मिना गुरुङ, खाना तथा जलपान व्यवस्थापनमा यामबहादुर गुरुङ र हर्कबहादुर गुरुङ चयन भएका छन् ।
त्यस्तै, कार्यसमितिमा सदस्यहरूमा नमराज गुरुङ, दीपेन्द्र गुरुङ, विकास गुरुङ, जितमान गुरुङ र बेलकुमार गुरुङ छन् ।यसअघि धम्पुस पोखरी घोताने परिवार युकेलाई ४ जना अध्यक्षहरू क्रमशः दुर्गमल गुरुङ, गुप्तबहादुर गुरुङ, गमबहादुर गुरुङ र गोलमान गुरुङले नेतृत्व गरिसकेका छन् ।
पहिलो चरणको वार्षिक साधारणसभामा कोषाध्यक्ष रामबहादुर गुरुङले आर्थिक प्रतिवेदन र महासचिव हरिमाया (भावना) गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा सदस्यहरूले संस्थाको सर्वोपरि हित र भावी कार्यक्रमका बारेमा सकारात्मक सुझावहरू दिँदै हालसम्म भएका र हुँदै गरेका गतिविधिप्रति खुशी प्रकट गरे ।
उनीहरुले ३ वर्षको कार्यकाल पूरा गरेको चौथो कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई धन्यवाद दिए । पहिलो चरणको अन्तमा अध्यक्ष गोलमान गुरुङले धन्यवाद मन्तव्य राख्दै चौथो कार्यसमितिको पदावधि समाप्त भएको घोषणा गरेका थिए ।
दोस्रो चरणमा परिवारको पाँचौँ कार्यसमिति छान्न निर्वाचन कार्यक्रम राखिएको थियो । निर्वाचन समितिका प्रमुख दुर्गमल गुरुङ, पूर्वअध्यक्ष गुप्तबहादुर गुरुङ, निवर्तमान अध्यक्ष गमबहादुर गुरुङ र सल्लाहकार कुमार गुरुङले पाँचौँ कार्यसमिति सर्वसम्मत चयन भएको घोषणा गरे ।
निर्वाचित समिति घोषणापश्चात् निर्वाचन समितिका अध्यक्ष दुर्गमल गुरुङले निर्वाचनमा उत्साहजनक रूपमा सहभागी भई सफल बनाइदिएकोमा आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिए ।
त्यसैगरी सल्लाहकार एवं सहारा युकेका पूर्वअध्यक्ष कुमार गुरुङले पनि शुभकामना मन्तव्य दिए । संस्थाका नवनिर्वाचित अध्यक्ष भगवान गुरुङले सर्वसम्मत अध्यक्ष पदमा चयन गराएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिए ।