लन्डन । धम्पुस पोखरी घोताने परिवार युकेको अध्यक्षमा भगवान गुरुङ चयन भएका छन् । तमु धीं युकेको भवनमा शनिबार १ जुन २०२४ सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनले भगवानलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा आईबहादुर गुरुङ, दोस्रो उपाध्यक्षमा रामबहादुर गुरुङ, महासचिवमा मिलन गुरुङ, सहसचिवमा ध्रुव गुरुङ, कोषाध्यक्षमा टिका (बोता) गुरुङ, सहकोषाध्यक्षमा अमृतमान गुरुङ, साँस्कृतिक संयोजकमा पूर्णबहादुर गुरुङ, सहसंयोजकमा पबित्र गुरुङ र मिना गुरुङ, खाना तथा जलपान व्यवस्थापनमा यामबहादुर गुरुङ र हर्कबहादुर गुरुङ चयन भएका छन् ।
त्यस्तै, कार्यसमितिमा सदस्यहरुमा नमराज गुरुङ, दिपेन्द्र गुरुङ, विकास गुरुङ, जितमान गुरुङ र बेलकुमार गुरुङ छन् ।
यसअघि धम्पुस पोखरी घोताने परिवार यूकेलाई ४ जना अध्यक्षहरु क्रमश: दुर्गमल गुरुङ, गुप्तबहादुर गुरुङ, गमबहादुर गुरुङ र गोलमान गुरुङले नेतृत्व गरिसकेका छन् ।
पहिलो चरणको वार्षिक साधारणसभामा कोषाध्यक्ष रामबहादुर गुरुङले आर्थिक प्रतिवेदन र महासचिव हरिमाया (भावना) गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा सदस्यहरुले संस्थाको सर्वोपरी हित र भावी कार्यक्रमका बारेमा सकारात्मक सुझावहरु दिँदै हालसम्म भएका र हुँदै गरेका गतिविधिप्रति खुशी प्रकट गरे । उनीहरुले ३ वर्षको कार्यकाल पूरा गरेको चौथो कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए । पहिलो चरणको अन्तमा अध्यक्ष गोलमान गुरुङले धन्यवाद मन्तव्य राख्दै चौथो कार्यसमितिको पदावधि समाप्त भएको घोषणा गरेका थिए ।
दोस्रो चरणमा परिवारको पाँचौ कार्यसमिति छान्न निर्वाचन कार्यक्रम राखिएको थियो । निर्वाचन समितिका प्रमुख दुर्गमल गुरुङ, पूर्वअध्यक्ष गुप्तबहादुर गुरुङ, निवर्तमान अध्यक्ष गमबहादुर गुरुङ र सल्लाहकार कुमार गुरुङले पाँचौ कार्यसमिति सर्वसम्मत चयन भएको घोषणा गरे ।
निर्वाचित समिति घोषणापश्चात् निर्वाचन समितिका अध्यक्ष दुर्गमल गुरुङले निर्वाचनमा उत्साहजनक रुपमा सहभागी भई सफल बनाइदिएकोमा अभार प्रकट गर्दै सबैलाई धन्यवाद दिए ।
त्यसैगरी सल्लाहकार एवम् सहारा युकेका पूर्वअध्यक्ष कुमार गुरुङले पनि शुभकामना मन्तव्य दिए । संस्थाका नवनिर्वाचित अध्यक्ष भगवान गुरुङले सर्वसम्मत अध्यक्ष पदमा चयन गराएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिए ।