लन्डन । किरात राई यायोक्खा बेलायतले साकेला उभौली मनाउँदै छ । यही शनिबार १ जुन २०२४ मा साकेला उभौली मनाउन लागिएको किरात राई यायोक्खा बेलायतका केन्द्रीय अध्यक्ष मेजर रि. श्री योगेश राईले बताए । उनका अनुसार कार्यक्रममा १५ वटा क्षेत्रीय संगठनहरु/प्रारम्भिक कार्यसमितिहरुका साथै १२ भाषिक संगठनहरुको प्रतिनिधित्व गर्ने छन् ।
कार्यक्रम संयुक्त अधिराज्य बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा हुनेछ । त्यस्तै नेपालबाट आएका संघीय सांसद, पूर्वसांसदहरु, आदिवासी जनजाति महासंघका अध्यक्ष, एनआरएन बेलायतका अध्यक्ष, भाषिक र जातीय संगठनका प्रतिनिधि, स्थानीय सरकारका मेयरहरु र काउन्सिलरहरुको उपस्थिति रहनेछ । सकेला उभौलीको कार्यक्रममा चुला पूजा, भुमेथान पूजा, अतिथिहरुको स्वागत, सकेला सिली नाच, १ तोला सुनको भाग्योदया चिट्ठासमेत हुने जानकारी दिँदै अध्यक्ष राईले सहभागी हुन सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई चुला निम्तोसमेत दिएका छन् ।
किरात राईहरु पितृ (चुला/कुल) र प्रकृति पुजक हुन् । हरेक ६/६ महिनामा उभौली र उधौली पूजा गर्ने गर्छन् । पूजा गर्दा तीन चुलामा आफ्ना पितृ पुर्खाहरुलाई सम्झी, सेवा गरी आशीर्वाद र शक्ति माग्ने गर्छन् । यति गरिसकेपछि भूमेथानमा गएर भूमिधर्तीको पूजा गर्ने गर्छन् । प्राकृतिक प्रकोप, दैवीक प्रकोप नलागोस्, देव दोष नलागोस्, दु:ख पीडा भोकमरी नहोस्, बालीनाली धेरै सप्रुन, परिवारमा अशान्ति नहोस् । सबैको कल्याण होस् भनी सेवा पूजा गर्ने गर्दछन् । यो पूजा नागिरे नक्छो वा जान्ने कुल पुजारीबाट गरिन्छ । यसरी पूजा गर्दा अरु सहयोगी व्यक्तिहरु (मसूमे, ढोले, सिलिमपा, सिलिममा ) साथै उपस्थिति सबै मानिसहरू धुमधामकासाथ साकेला सिली गर्दै नाच्दै रमाउॅने गर्छन् ।
साकेला सिली गर्दा जंगली युगमा रहॅदा सिकार गरी जीवनयापन गरेको अभिनय, मानव सभ्यतामा प्रवेश भएपछि गरेका खेतीपाती लगाउने, बाली भित्र्याउने कपडा उत्पादन गर्ने देखि लिएर विभिन्न चराहरुको नाच अभिनय गर्दै नाच्ने गर्दछन् । यो सिली नाच्नुमा किराती राईहरुको खोलानाला र ठाउँअनुसार थोर बहुत फरक हुन्छन् । किराती राईहरु ३६ थरी तर २६ भाषामात्रै आजभोलि बोलिने गरिन्छ । २६ भाषीमध्ये कोयी राई र दुमी राईहरुले साखेल सिली भन्छन् भने बाहिङ/बायुङ राईहरुले हङ सिली भन्ने गर्छन् । प्राय: अरु सबै राईहरुले साकेला सिली भन्ने गर्छन् ।