लन्डन । घान्द्रुक समाज युकेको अध्यक्षमा देवबहादुर गुरुङ चयन भएका छन् । शनिबार अल्डरसटको एम्पायर हलमा सम्पन्न १६औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनले देवबहादुरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । यस्तै आमा समूहको अध्यक्षमा हिरादेवी गुरुङ चयन भएकी छन् ।
समाजका अध्यक्ष नारायणसिंह गुरुङको सभापतित्वमा बसेको सभालाई महासचिव राजकुमार गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रम १६औँ वार्षिक साधारणसभा र सातौँ कार्यसमिति चयनको अधिवेशन गरी दुई चरणमा भएको थियो ।
साधारणसभामा मूल समिति र आमा समूहका पदाधिकारी, पूर्वअध्यक्षहरू मेजर उदयबहादुर गुरुङ एमबीई, क्या. इमानकुमार गुरुङ, इन्स्पेक्टर खेम बहादुर गुरुङ, क्या. पूर्णबहादुर गुरुङ, अर्जुन गुरुङ, आमा समूहका पूर्वअध्यक्ष शान्ति गुरुङ तथा अन्य सल्लाहकारलाई विधिवत् रूपमा आसन ग्रहण गराइएको थियो ।
कार्यक्रमको प्रारम्भमा यस वर्ष दिवंगत भएका गाउँले आफन्तको सम्झनामा १ मिनेट मौन धारण पनि गरिएको थियो । संस्थापक अध्यक्ष मेजर उदयबहादुर गुरुङ एमबीई र अध्यक्ष नारायणसिंह गुरुङले दीप प्रज्वलन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए । उपाध्यक्ष देवबहादुर गुरुङले स्वागत तथा सेफ्टी सम्बन्धमा जानकारी गराएर सभा मुख्य विषयवस्तुमा प्रवेश गराएका थिए ।
मुख्य विषयवस्तुमा प्रवेश गर्ने क्रममा महासचिव राजकुमार गुरुङले वार्षिक प्रगति प्रतिवेदन पेस गरे । देवसिंह गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । त्यस्तै, स्पोर्ट्स सेक्रेटरी याम गुरुङले गोर्खा कप र तमु भाषा समितिको हिसाब किताब प्रस्तुत गरे । आमा समूहका कोषाध्यक्ष रजनी गुरुङले आमा समूहको कोषबारे प्रतिवेदन प्रस्तुत गरिन् ।
आमा समूहका अध्यक्ष हरिमाया गुरुङले प्रगति प्रतिवेदनको साथै आफ्नो तीन वर्षे कार्यकालको विस्तृत विवरण प्रस्तुत गरिन् । त्यसपछि अध्यक्ष नारायणसिंह गुरुङले विभिन्न विषयमा छलफल गरी एजेन्डाहरू फ्लोरमा राखेर आवश्यक निर्णय गराए। उनले पहिलो चरणको कार्यक्रमलाई धन्यवादका साथ समापन गरे । त्यसपछि ब्रेकको समयमा खाना लिएका थिए ।
दोस्रो चरणको कार्यक्रममा अध्यक्षसहित पाँच जना पूर्वअध्यक्ष रहेको निर्वाचन कमिटीको सदस्यलाई आसन ग्रहण गराइएको थियो । कार्यक्रम सञ्चालनका नारायणसिंह गुरुङको नेतृत्वमा रहेको छैटौँ कार्यसमितिका पदाधिकारी र हरिमाया गुरुङको नेतृत्वको पदाधिकारीलाई संस्थापक अध्यक्ष र पूर्वअध्यक्षले प्रमाण पत्र, खादा, फूल, चिनोका रूपमा समाजको लोगो भएको भांग्रा, पछ्यौरी ओढाएर बिदाइ गरे ।
त्यसपछि आमा समूह र मूल समितिको नयाँ पदाधिकारीको नाम सार्वजनिक गरिएको थियो । निर्वाचन समितिका सदस्यले खादा, फूल र अबिर लगाएर नयाँ कार्य समितिलाई बधाई तथा स्वागत गरेका थिए । पुरानो अध्यक्ष दम्पती र नयाँ अध्यक्ष दम्पतीबीच मायाको चिनो साटासाटसमेत भएको थियो ।
त्यसपछि पूर्वअध्यक्षको प्रतिनिधित्व गर्दै संस्थापक अध्यक्ष मेजर उदय गुरुङले धन्यवाद तथा स्वागतका साथ छोटो मन्तव्य राखे । नवनिर्वाचित अध्यक्ष देवबहादुर गुरुङले आफ्नो प्रतिबद्धता सहितको मन्तव्य राखे । अन्त्यमा ३ वर्षे कार्यकाल सकेर निवर्तमान हुन पुगेका अध्यक्ष तथा सभाध्यक्ष नारायणसिंह गुरुङले आफ्नो कार्यकालमा गरेका सकारात्मक र नकारात्मक पक्ष केलाउँदै अनुभव प्रस्तुत गरे ।
उनले आफ्नो नेतृत्वको छैटौँ कार्य समितिलाई साथ सहयोग गरी समाजलाई यो उचाइमा ल्याउन सफल बनाएकोमा आभार व्यक्त गर्दै धन्यवाद दिए । नयाँ कमिटीलाई पनि यसरी नै साथ सहयोग आग्रह गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।