पोखरा । पोखराको बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयलाई चिल्ड्रेन नेपालले १ थान रंगिन प्रिन्टर प्रदान गरेको छ ।
पोखरा महानगरपालिका-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीको प्रमुख आतिथ्यतमा आयोजित कार्यक्रमबीच उक्त सहयोग गरेको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचनाकुमारी अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।
विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको चिल्ड्रेन नेपालका कार्यकारी अधिकृत डिल्ली शर्मा पौडेलले बताए । यस विद्यालयमा अध्ययनरत ४६ बालबालिकालाई आफूहरूले यसअघि पनि विभिन्न सहयोग गरेको उनको भनाइ थियो । विद्यालयमा विपन्न परिवारका २७० बालबालिका अध्ययनरत छन् ।
कार्यक्रमका विशेष अतिथि कालिका सशस्त्र प्रहरी गण कास्कीका गणपति एसपी अरुणकुमार शर्मा पौडेलले पूर्वप्रहरी क्लब १०२ का तर्फबाट विद्यालयका बालबालिकालाई खेलकुदमा हौसला प्रदान गर्न १२ थान जर्सीसमेत हस्तान्तरण गरे। कार्यक्रममा बोल्दै एसपी पौडेलले पोखरालाई पर्यटनको मात्र नभई खेलकुदको समेत राजधानी बनाउनुपर्नेमा जोड दिए।
सो अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत दलित, पिछडिएको समुदायका बालबालिका र छात्रालाई सरकारले प्रदान गर्ने छात्रवृत्ति पनि वितरण गरिएको थियो । प्रमुख अतिथि मर्सानीले विद्यालयको भौतिक पाटो मात्र नभई शैक्षिक गुणस्तरमा समेत सबैले चासो व्यक्त गर्नुपर्ने बताए ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले गरेका थिए । पोखरा महानगरपालिका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मी, जनप्रतिनिधि नन्दराम गिरि, सहारा क्लब पोखराका अध्यक्ष केशबराज बराल, विद्यालय व्यवस्थापन समितिका सदस्य, चिल्ड्रेन नेपालका वरिष्ठ कार्यक्रम संयोजक शारदा शर्मा, सल्लाहकारहरू र अभिभावकसमेतको उपस्थिति थियो । समापनका क्रममा अध्यक्ष थकालीले दाताहरूलाई धन्यवाद व्यक्त गरे ।