लन्डन । पाँचथर समाज सेवा युकेकी अध्यक्ष तथा साहित्यकार शान्ति लिम्बुको चौथो कृति 'कस्तुरी यात्रा' बजारमा आउने भएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत लिम्बूले केही हप्तापछि नै कस्तुरी यात्रा पाठकमाझ आउन लागेको जनाइन् । हाइकु, मुक्त र गीत समावेश रहेको पुस्तक बजारमा ल्याउन लागेको उनको भनाइ छ ।
लिम्बूले पुस्तकलाई सन्तानको रूपमा तुलना गरेकी छन् । ‘केही हप्तापछि आउँदै छ । हरेक कृति मलाई सन्तानजस्तै लाग्छ । एउटा सन्तान ९/१० महिना गर्भमा राखेर जन्म दिइन्छ भने एउटा कृति त वर्षौं लगाएर प्रकाशित गरिन्छ । मैले कस्तुरी यात्रालाई चौथो सन्तानको रूपमा लिएकी छु,’ उनले भनेकी छन् ।
यसअघिका कृतिमा जस्तै यस कृतिमा पनि पाठकबाट माया पाउने उनले अपेक्षा गरेकी छन् । 'लाखौँ नेपाली विदेशको यात्रामा छन् सुन्दर भविष्य बनाउन भनेर विकसित मुलुकका मानिस चन्द्रमा हुँदै मंगलग्रह तिरको यात्रामा लम्किँदै छन्,’ लिम्बूले भनेकी छन्, ‘लाग्छ, हामी सबै कस्तुरी यात्रामा छौँ । यो पृथ्वी स्वयंले पनि आफ्नै तवरले यात्रा गरिरहेको छ । यस्तै यात्रामा छ ‘कस्तुरी यात्रा’ संग्रह पनि, अब यी मेरा सिर्जना केही दिनपछि तपाईंमाझ सुम्पिँदै छु ।’
लिम्बूका यसअघि पहिलो कृति 'चेरिशा', दोस्रो 'मिलीजुली' आख्यान र तेस्रो 'शान फुङ' प्रकाशित भइसकेका छन् । साहित्यकार तथा समाजसेवी लिम्बूले साहित्यमार्फत सुन्दर समाज निर्माणका लागि इँट्टा थप्ने काम बन्ने आशा व्यक्त गरेकी छन् ।
'सृजना भनेको बाहिर प्रस्फुटन गरे साहित्यमार्फत सुन्दर समाज निर्माणको लागि एउटा सानो इँटा थप्ने काम बन्न सक्छ भनेर तिनै रहेका सिर्जना तथा पछिल्लो समय थपिएकालाई संग्रहको रूप दिँदै छु,' उनले भनेकी छन् ।