पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आठौँ पोखरा स्पोर्टस् अवार्डमा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरूलाई धन्यवादसहित आभार व्यक्त गरेको छ ।
सहारा क्लबका मानार्थ सदस्यद्वय महेश गुरुङ र लोकबहादुर गुरुङ कर्मथलो बेलायत प्रस्थान गर्न लागेको अवसर पारेर बिहीबार धन्यवाद कार्यक्रमको आयोजना गरेको हो । वैशाख २८ गते पोखरामा सम्पन्न आठौँ पोखरा स्पोर्टस् अवार्डमा विदेशस्थित विभिन्न संघसंस्था तथा व्यक्तिबाट सहयोग प्राप्त भएको थियो ।
कार्यक्रममा बोल्दै सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङले मञ्चले खेलकुदको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए । उनले मञ्चसँगको सहकार्य आदानप्रदान भइरहेको भन्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । पोखरामा एउटा ब्रान्डका रूपमा स्थापित भइसकेको अवार्डलाई आगामी दिनमा सबैको अपनत्व हुने गरी सञ्चालन गर्न उनले सुझाव दिए ।
सहारा क्लबका मानार्थ सदस्य लोकबहादुर गुरुङले अवार्ड स्तरीय बन्न सकेको भन्दै यसलाई निरन्तर सञ्चालन हुनेगरी स्रोत सुनिश्चित गर्न आग्रह गरे । सहारा क्लब युकेका सल्लाहकार भोजबहादुर गुरुङले मञ्चले छोटो समयको तयारीबीस्तरीय कार्यक्रम सञ्चालन गर्न सफल भएको बताए । आगामी दिनमा सहयोग निरन्तर रहने उनको प्रतिबद्धता छ ।
कार्यक्रममा फुटबलका पूर्वराष्ट्रिय खेलाडी रूपक गुरुङले खेलाडी र खेल क्षेत्रमा लाग्नेहरूका लागि अवार्ड कार्यक्रमले हौसला थप्न सफल भएको बताए । यो अवार्ड प्रदेशले गौरव गर्न लायक कार्यक्रम भएको भन्दै सबैलाई सहयोगको लागि आह्वानसमेत गरे ।
मञ्चलाई सहारा क्लब युकेबाट अध्यक्ष कृष्णबहादुर गुरुङ, संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्वअध्यक्ष दिलीप गुरुङ, मीनबहादुर गुरुङ, कुमार गुरुङ, निवर्तमान अध्यक्ष ले. कुशाङ गुरुङ, उपाध्यक्ष शारदा गुरुङ, सचिव मञ्जु गुरुङ, सल्लाहकार हरि श्रेष्ठ, शेरा गुरुङ, नरजङ गुरुङ, भोज गुरुङ, डा. चन्द्र गुरुङलगायतले सहयोग गरेका थिए ।
यस्तै, सहारा क्लब पोखराका मानार्थ सदस्यद्वय महेश गुरुङ, लोकबहादुर गुरुङ, फुटबलका पूर्वराष्ट्रिय खेलाडी तथा रामबजार सोसाइटी युकेका संस्थापक रूपक गुरुङ, एनआरएनए युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, गोर्खा मिडियाका प्रमुख मिलन तमु, बगर भाइखलक युकेका अध्यक्ष दिलरास गुरुङ, उपाध्यक्ष कमल गुरुङ, सहारा क्लब हङकङ, तमु धी युके प्रतिनिधि मेजर लक्ष्मी गुरुङ, पूर्व नेपाली राष्ट्रिय महिला भलिबल टिककी उपकप्तान मञ्जु गुरुङ, एशियन पदक विजेता तेक्वान्दो खेलाडी सपना मल्ला (अमेरिका)ले पनि सहयोग गरेको अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक केशव पाठकले जानकारी दिए ।
अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक केशव पाठक र सुदर्शन रञ्जितको सहजीकरण तथा युकेसहित हङकङ, अमेरिकालगायत विभिन्न देशमा रहेका संघसंस्था तथा व्यक्तिको सहयोगप्रति मञ्चका अध्यक्ष दीननाथ बरालले आभार व्यक्त गरे । अध्यक्ष बराल, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, उपसमिति सहसंयोजक सुदर्शन रञ्जितलगायतले सहयोगीहरूलाई प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।