पोखरा । तमु समुदायको पुरानो तथा अग्रणी सामाजिक संस्था तमु धीं नेपालले विविध कार्यक्रम गर्दै स्थापना दिवस मनाउने भएको छ ।
आगामी जेठ ५ गते स्थापनाको ४०औँ वर्ष पुगेको अवसरमा पोखरा-९ नयाँ बजारस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम गर्ने भएको हो । सो अवसरमा सरसफाइ, रक्तदान, शुभकामना आदानप्रदान, शैक्षिक सम्मान तथा बधाई ज्ञापनसहित सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए ।
तमु धीं देश, प्रवास, जिल्ला र क्षेत्रीय शाखा, संघसंस्था तथा समाजहरूको छाता संस्थाका रूपमा क्रियाशील सामाजिक संस्था हो । स्थापना दिवसको दिन बिहान शान्ति वनबाटिका सरसफाइ गर्ने भएको छ ।
तमु धीं नेपाल केन्द्रीय युवा समितिले तमु धीं नेपालको प्रांगणमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको युवा समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुदर्शन गुरुङले जानकारी दिए । यसरी नै जेठ ५ गते दिउसो गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम हुनेछ ।
यसैगरी, शिक्षाविद तथा समाजसेवी गणेशबहादुर गुरुङ स्मृतिकोषबाट गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङलाई एक लाख ११ हजार ११ रुपैयाँसहित शैक्षिक सम्मान अर्पण गरिनेछ। गण्डकीका मुख्यमन्त्री तथा मन्त्रीहरूलाई तमु धीं नेपाल एवं तमु समाजहरूबाट बधाई साथै विविध सांस्कृतिक कार्यक्रम गरिने तमु धीं नेपालले जनाएको छ ।
तमु धींका अध्यक्ष गुरुङका अनुसार शिक्षाविद् तथा समाजसेवी गणेशबहादुर गुरुङ स्मृतिकोषबाट शैक्षिक व्यक्तित्व जोर्ज जोन, सामाजिक व्यक्तित्व भद्रकुमारी यसअघि नै सम्मानित भइसकेका छन् । वार्षिक रूपमा शैक्षिक तथा सामाजिक व्यक्तित्वलाई सम्मान गर्ने गरिएको छ ।
यस वर्ष स्याङजाको आँधिखोला- १ सिरुवारी घर भई त्रिवि समाजशास्त्र मानवशास्त्र केन्द्रीय विभागका पूर्वप्रमुख, राष्ट्रिय शिक्षा आयोगका पूर्वसदस्य, विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष, संविधानसभाका सदस्य, गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङलाई शैक्षिक एवं सामाजिक क्षेत्रमा पुर्याएको योगदानका कारण शैक्षिक सम्मान गर्ने निर्णय गरिएको तमु धींका अध्यक्ष गुरुङले जानकारी दिए ।
तत्कालीन पञ्चायती व्यवस्थामा संघसंस्था खोल्न बन्देज भएको अवस्थामा शान्ति वनबाटिकामा २०४२ साल जेठ ५ गते सम्पन्न भेलाबाट कर्म तमुको अध्यक्षतामा तमु धीं नेपाल स्थापना भएको थियो ।