काठमाडौँ । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान् युवालाई ‘फेलोसिप’ उपलब्ध गराउने व्यवस्था मिलाउने भएको छ ।
संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नेपाल सरकारको २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा युवालाई ‘फेलोसिप’ प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेसमेत उल्लेख गरिएको छ ।
कार्यक्रममा युवा जनशक्ति परिचालन र क्षमता अभिवृद्धिका लागि राष्ट्रनिर्माणमा युवा स्वयंसेवी कार्यक्रम सञ्चालन गरिने सरकारको योजना रहेको छ ।
यसैगरी युवालाई सीप विकास, वित्तीय साक्षरता तथा उद्यमशीलता तालिममार्फत सामाजिक जीवनका सबै क्षेत्रमा महत्त्वपूर्ण साझेदार र संवाहकका रूपमा अगाडि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैबीच, सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको छ । सडक मानवको उद्धार, संरक्षण र पुनः स्थापनामा संलग्न संघ संस्थासँग समन्वय र सहकार्यमा सडक मानवमुक्त बनाइने उल्लेख छ ।
साथै, ज्येष्ठ नागरिकको हेरचाहमा परिवार र समाजको भूमिकासम्बन्धी नीतिगत व्यवस्था गरिने, ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा प्राथमिकता दिनुका साथै सहुलियतको प्रबन्धको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
ज्येष्ठ नागरिकलाई स्थानीय तहमार्फत घरमा नै नियमित स्वास्थ्य परीक्षण एवं औषधि उपलब्ध गराउने सरकारको नीति छ ।