पोखरा । कास्कीको पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित प्रतिष्ठित विद्यालय कुमुदिनी होम्सले दुई विद्यालयका ८३ विद्यार्थीलाई विद्यालय पोसाक प्रदान गरेको छ ।
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले माछापुच्छ्रे गाउँपालिकाको खादरजुङस्थित वराही प्रावि र पोखरा-१९ पुरनचौर लप्सिटाकुरास्थित हिमालयन प्राविका विद्यार्थीलाई ५० हजार रुपैयाँ बराबरको पोसाक हस्तान्तरण गरेका हुन् ।
बुधबार विद्यालयमा आयोजित कार्यक्रममा वराहीका प्रधानाध्यापक रामप्रसाद आचार्य र हिमालयनका प्रधानाध्यापक प्रेमकुमारी तिमिल्सिनाले पोसाक बुझेका थिए । आफ्नो विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म ४८ जना विद्यार्थी रहेको वराहीका प्रअ आचार्यले बताए । त्यसमध्ये छात्रा २८ र छात्र २० जना छन् । विगत एक दशकदेखि सहयोग गरिरहेको भन्दै उनले कुमुदिनीलाई धन्यवाद दिए ।
यस्तै, हिमालयनका प्रअ तिमिल्सिनाले कुमुदिनीको सहयोगले विद्यालयमा पठनपाठनको वातावरण फेरिएको बताइन् । ‘गाउँमा रहेका विद्यार्थीका लागि विद्यालय पोसाक, स्टेसनरी नहुँदाको पीडा कति हुन्छ हामीलाई थाहा छ,’ उनले भनिन्, ‘तर विगत आठ-दश वर्षदेखि त्यो समस्या धेरै कम भएको छ ।’
हिमालयमा १६ छात्र र १९ छात्राले अध्ययन गरिरहेका छन् । आफूहरूले एक दशकयता दुई विद्यालयका विद्यार्थीका लागि हामीले विद्यालय पोसाक, शैक्षिक सामग्री र दिवा खाजाको व्यवस्था गर्दै आएको उनले बताए । केही दिनमा नै स्टेसनरी हस्तान्तरण गर्ने उनको भनाइ छ । ‘कुमुदिनीका विद्यार्थीलाई सामाजिक काममा सहभागी गराउने क्रममा कक्षा एकदेखि १० सम्मका विद्यार्थीले संकलन गरेको पेन्सिल, कापीलगायत शैक्षिक सामग्री उपलब्ध गराउने छौँ,’ उनले भने ।
उनका अनुसार लोटस फाउन्डेसनअन्तर्गत घनिष्ठ सहयोगी राईनर कुबेराको सहयोगमा ती सामाग्री उपलब्ध हुने गरेका छन् । त्यहाँबाट ४ चाख ७८ हजार ३९ रुपैयाँ बराबर रहेको र बाँकी आफैँले सहयोग गरिरहेको पालिलेको भनाइ छ । कुमुदिनीले विद्यालयको भौतिक पूर्वाधार र शिक्षक तालिम र अन्य सहयोगसमेत गर्दै आएको छ ।
कुमुदिनीले हिमालयन जाने विद्यार्थीका लागि ट्रस पुल, शौचालयलगायत सहयोग उपलब्ध गराएपछि विद्यार्थी पनि बढ्दै गएका छन् । हिमालयनका दुई विद्यार्थी अहिले पूर्ण छात्रवृत्तिमा कुमुदिनीमा पढिरहेका छन् ।