पोखरा । आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को तयारी तीव्र पारिएको छ । मुल आयोजक समितिसहित १३ वटै उपसमितिमार्फत एकसाथ तयारीलाई अगाडि बढाइएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।
‘अर्वाडको तयारी तीव्र बनाइएको छ, अब अवार्ड कार्यक्रमको विस्तृत जानकारीसहित चार विधाको नोमिनेसन सार्वजनिक गर्ने अन्तिम तयारीमा छौँ’ उनले भने ।
अवार्ड कार्यक्रमलाई सहयोग प्राप्त हुने क्रम पनि जारी रहेको उनले बताए । शनिबार अवार्डका लागि मुस्ताङ गल्फ कोर्षले ११ हजार रुपैयाँ सहयोग गरेको छ । गल्फ कोर्षका सञ्चालक इन्द्रधारा विष्टले मञ्च अध्यक्ष बराललाई रकम हस्तान्तरण गरे ।
यसैगरी थ्रीसिक्स इन्जिनियर रेजिमेट एन्ड क्यूजीईका संयोजक क्याप्टेन कृष्ण पुनले पनि १० हजार रुपैयाँ सहयोग गरेका छन् । पुनले सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकाली, अन्तर्राष्ट्रिय समन्वय उपसमिति सहसंयोजक सुदर्शन रञ्जितको उपस्थितिमा अध्यक्ष बराललाई सहयोग हस्तान्तरण गरेको मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।
अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने प्रचार-प्रसार उपसमितिका संयोजक समेत रहेका महासचिव पौडेलले बताए ।
बैशाख २८ गते शुक्रबार पोखरा सभागृहमा हुने अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद्ले पनि सघाउने उनको भनाइ छ । प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टका रूपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एन्ड स्पा रहेको छ ।
यस्तै, टेल्जी ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस्, सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप, मादी गाउँपालिका, रुपा गाउँपालिका, गुरुङ हर्बल ब्युटी पार्लरलगायत छन् । थप सहयोगी पनि जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ ।