काठमाडौँ । गैरआवशीय नेपाली संघ (एनआरएनए) युकेका पूर्वअध्यक्ष पुनम गुरुङलाई तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले काठमाडौँमा सम्मान गरेको छ ।
शनिबार ह्युलको केन्द्रीय कार्यालय गोंगबुमा एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरेको हो । पुनमले बेलायतमा पुगेर गुरुङको मात्र नभएर सिंगो नेपाली महिलाको शिर उँचो पार्ने काम गरेको कार्यक्रममा बताइएको थियो । उनी तमु धीं युके आमा समूहका संस्थापक अध्यक्षसमेत हुन् ।
ह्युलका सल्लाहकार डा. गणेश गुरुङले बेलायतमा पुगेर पनि महिलालाई संगठित, गैरआवासीय नेपाली संघको नेतृत्व, विभिन्न च्यारिटी कार्यक्रममा अग्रणी भूमिका निर्वाह गरेको भन्दै पुनमको प्रशंसा गरे ।
कार्यक्रममा ह्युलका अध्यक्ष कर्णबहादुर गुरुङ, पूर्वअध्यक्ष रेशम गुरुङ, उपाध्यक्ष भगवती गुरुङ, सचिव देवी गुरुङ, पूर्वजर्नेल रामबहादुर गुरुङ, पूर्वइन्स्पेक्टर क्षेत्र गुरुङ, व्यवसायी लालकाजी गुरुङ, बद्री गुरुङ र पूर्वमहासचिव धनमान गुरुङले खादा लगाएर स्वागत तथा सम्मान गर्दै उज्ज्वल भविष्यको कामना गरेका थिए ।
सो अवसरमा कार्यक्रममा पुनमले आफूले सामाजिक सेवाका लागि सक्दो प्रयास गरिरहेको भन्दै सबैको साथ र सहयोगले अघि बढ्न मद्दत मिलेको बताइन् ।