पोखरा । आर्थिक अभावका कारण उपचार गर्न समस्यामा परेका सात जना बिरामीलाई तमु धीं नेपालले तीन लाख ५० हजार रुपैँया सहयोग गरेको छ ।
शनिबार पोखरा-९ नयाँबजारस्थित तमु धींको कार्यालयमा आयोजित कार्यक्रममा तमु धीं नेपालका संरक्षक स्वर्गीय मेजर जय- स्वर्गीय- उदयचन्द्र- मेजर्नी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषको ब्याजबाट सहयोग प्रदान गरेको हो ।
उपचार सहयोग प्राप्त गर्ने बिरामीहरूमा पर्वतको फलेवास नगरपालिका-८ का युसेफ नेपाली, कास्कीको मादी गाउँपालिका-५ की मायाकुमारी गुरुङ, स्याङ्जा पुतलीबजार नगरपालिका-११ की अनु गुरुङ, कास्कीकै रुपा गाउँपालिका-५ का चन्द्रबहादुर गुरुङ, मादी गाँपालिका-३ की रिता पौडेल, कास्कीकै माछापुच्छ्रे गाउँपालिका-३ की दरीमाया पुन र लमजुङको क्होलासोंथार गाउँपालिका-४ भुजुङका कृष्णबहादुर गुरुङ छन् ।
कार्यक्रममा कोषदाता मेजर्नी रूपकुमारी गुरुङ, लक्ष्मी गुरुङ र तमु धीं अध्यक्ष हुमबहादुर गुरुङले बिरामीहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जनही ५० हजार रुपैयाँका दरले प्रदान गरे ।
अध्यक्ष गुरुङका अनुसार तमु धीं नेपालमा स्थापित एक करोड १५१ रुपैयाँको कोषको ब्याजबाट एक वर्षमा १५ जना बिरामीलाई उपचार सहयोग गरिएको छ ।
अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रूपकुमारी गुरुङले बिरामीलाई आशीर्वाद प्रदान, वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङले स्वागत मन्तव्य तथा महासचिव जुनाकुमारी गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।