काठमाडौँ– सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ खन्ने काम ११० मिटर मात्रै बाँकी रहेको छ ।
भौगोलिक जटिलता उत्पन्न नभए यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ ।
कुल १३.३ किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३.१९० किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले बताए ।
तराई–मधेशका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यसाथ आयोजना निर्माण भइरहेको हो । सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराइने प्रमुख बरालले बताए । आयोजना निर्माण २०७९ असोजमा शुरू गरिएको थियो ।
सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट बीपी राजमार्गको केही भाग प्रभावित हुनेछ । राजमार्गलाई ९०० मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ ।
आगामी बर्खाअघिसम्म बाँध निर्माणलाई एउटा स्तरमा पुर्याउने लक्ष्य राखिएको छ । वैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ । यस्तै, विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । सो आयोजनाबाट तराई–मधेशका कुल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
सुनकोशी गाउँपालिका–७ कानढुंगीस्थित सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोशी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ। सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ।
त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ। त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ।
आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरिरहेको छ।
सो आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रूपमा रहेको मध्य तराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुने प्रमुख बरालले बताए ।