काठमाडौँ । नेपालको राष्ट्रियसभाले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव स्वीकृत गरेको छ ।
राष्ट्रियसभाको शुक्रबारको बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला देवी पन्तले उक्त प्रस्ताव पेस गरेकी थिइन् । उक्त प्रस्तावमाथि छलफलपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
बैठकमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संकल्प प्रस्तावमा उल्लेखित विषयलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग, कुपोषण, परिवार नियोजन, मातृ तथा नवजात शिशुलगायत विभिन्न नौ वटा शीर्षकमा स्वास्थ्य सेवा उपलब्ध भइरहेको उनको भनाइ थियो ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभरका २३ लाख ९४ हजार ६९५ घरधुरीका ७७ लाख २७ हजार ३६३ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । त्यसैगरी पाँच लाख १६ हजार ११० जना अति विपन्न परिवारका व्यक्ति, आठ लाख ९४ हजार ३१० जना ज्येष्ठ नागरिक, ३५ हजार ५९६ जना एचआइभी संक्रमित, एक लाख ४२ हजार ८०० जना अति असक्त अपांग, तीन हजार ७४२ जना कुष्ठरोग संक्रमितलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको सरकारले जनाएको छ ।
विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाले उल्लेख गरेका कडा खालका रोगको उपचारका लागि एक लाखसम्म रकम उपलब्ध गराएको मन्त्री यादवले बताए।