काठमाडौँ । पोखरामा १९औँ ‘फेवा नव वर्ष’ महोत्सव सुरु भएको छ। पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर होटल संघ पोखराले आयोजना गरेको महोत्सव वैशाख १ सम्म चल्नेछ ।
महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेकसाइड स्थित अम्मटमा आयोजित विशेष समारोहबीच उद्घाटन गरे । सो अवसरमा पञ्चेबाजा र विभिन्न जातजातिका झाँकी प्रस्तुत गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख आचार्यले पोखरा पर्यटनको राजधानी घोषणा भएको सन्दर्भ स्मरण गराए । यहाँका व्यवसायी र नागरिकको व्यवहार पनि पर्यटकमैत्री हुनुपर्नेमा उनको जोड थियो ।
आयोजक होटल संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले रत्यौली, पञ्चेबाजा, भजनचुड्का र नेपाली खाना महोत्सव जस्ता आकर्षणलाई फेवा महोत्सवले समेटेको जनाए।
“नेपालका मुख्य शहरमा अंग्रेजी नयाँ वर्ष धूमधामका साथ मनाउने गरिएकामा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन महोत्सवलाई यसवर्ष पनि निरन्तरता दिइएको हो । पर्यटनको राजधानी घोषणापछि पहिलो पटक हुन लागेको यस महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने छौँ,” उनले भने
आन्तरिक तथा बाह्य गरी तीन लाख पर्यटकले महोत्सव अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवको अवसरमा होटल संघ पोखरा मातहतका होटलको प्रकाशित दररेटमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको निवर्तमान अध्यक्ष विकल तुलाचनले बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले यसवर्ष बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक समेत नेपाली नयाँवर्ष मनाउन पोखरा आउने अपेक्षा रहेको बताए ।
होटल संघ पोखराले दुई दशकअघिदेखि नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएको छ । कोरोनाका कारण दुई वर्ष सञ्चालन नभएको महोत्सव अन्य वर्षमा निरन्तर रहेको छ ।
पर्यटन बोर्ड पोखराका निमित्त प्रमुख नवीन पोखरेलले नव वर्ष महोत्सवले नेपाली संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनका माध्यमबाट आर्थिक उन्नयनमा योगदान गरेको बताए ।
महोत्सव उद्घाटन अघि निकालिएका झाँकीसहितको र्याली खहरेचोक र ड्यामसाइडचोकबाट अम्मट पुगेको थियो । महोत्सवमा पर्यटक दौड, विभिन्न खानाको बिक्री तथा प्रस्तुती, नाचगानका कार्यक्रम, कन्सर्ट र नेपाली कला र संस्कृतिको प्रस्तुती समेटिएको आयोजक संघका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिए ।