काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहित चार दलका शीर्ष नेताबीचको बैठक निष्कर्षविहीन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग नछाडेपछि बैठक निचोडमा नपुगी सकिएको हो ।
समामुख घिमिरेले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकलाई सहज बनाउन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसँग सोमबार छलफल गरेका हुन्।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणबारे गृहमन्त्री लामिछानेमाथिको संसदीय छानबिनको मागको कुरालाई यथावत् राखेको बताए । लाखौँलाख नागरिकको बचत रकम सहकारीबाट अपचलन, दुरुपयोग तथा ठगी भएको र यो सन्दर्भमा बहालवाला मन्त्रीको नाम पनि जोडिएकाले संसदीय समिति माग गरिएको उनले बताए ।
“हामीले न्यूनतम (संसदीय समिति) माग गर्दा पनि सरकार मान्न तयार नभएकाले अब संसद्का कुनै बैठक, कुनै पनि कामकारबाही अवरुद्ध भए त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ,” उनले भने, “सरकार कसरी प्रस्तुत हुन्छ त्यसमा भर पर्छ ।”
सत्तारुढ दल नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले उठाएको माग तथ्य र प्रमाणमा आधारित नभएको र पूर्वाग्रहमा आधारित यी विषयमा संसदीय समिति बन्न नसक्ने भनेर प्रस्ट पारिएको बताए ।
“यो विषयमा प्रमुख प्रतिपक्षी दलले जुन ढंगले संसदीय छानबिन समितिको माग गरेको छ, त्यो जायज छैन, त्यो न्यायोचित छैन । यस्ता हल्लाका विषयमा समेत संसदीय छानबिन समिति बनाउँदै जाने हो भने ठीक नजिर बस्दैन” उनले भने “त्यसैले हामीले प्रष्ट शब्दमा भनौँ, संसदीय छानबिन समिति बन्दैन।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परिवारले मिथ्या आरोपमा संसदीय समिति चाहिन्छ भन्नु कांग्रेसको कुटिल चाल भएको बताए । गृहमन्त्री एवं पार्टी सभापति लामिछानेमाथि संसदीय छानबिन आवश्यक नभएको उनको भनाइ छ ।
“मिथ्या आरोपका भरमा उसलाई राजनीतिक, सामाजिक तथा आर्थिक अधिकार मानव अधिकार खारेज गर्ने कुरा नेपाली कांग्रेस जस्तो लामो लोकतान्त्रिक अभ्यासको इतिहास भएको पार्टी जुन गर्छ त्यो रास्वपाले स्विकार्दैन,” उनले भने।
उनले संसद् कसरी अगाडि बढ्छ भन्ने विषयको निकास खोज्नका लागि आफूहरू संवाद गर्न तयार रहेको बताए।