काठमाडौँ । दुई समूहबीचको झडपले तनाव सिर्जना भएपछि स्थानीय प्रशासनले सुनसरीमा कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, देवानगन्ज गाउँपालिका, भोक्राह नरसिंह गाउँपालिका, कोशी गाउँपालिका क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो ।
सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जारी गरेको आदेशमा शुक्रबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।
प्रशासनले जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यु जारी गरिएको उल्लेख छ ।
यसबीचमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक आवतजावत गर्न, भेला हुन र सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली तथा प्रदर्शनमा रोक लगाइएको जनाइएको छ ।
“यस आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने ब्यहोरासमेत जानकारी गराइन्छ,” उनले भने । विज्ञप्तिमा पूर्वपश्चिम राजमार्गमा लामो दूरीको यात्रुवाहक तथा मालवाहक सवारी साधनलाई निगरानीमा राखी आवतजावत गर्न दिइने उल्लेख छ ।
बिहीबार एसईईका क्रममा हरिनगर गाउँपालिका-१ स्थित बालकृष्ण माविमा कुटपिट भएको थियो । त्यसपछि दुई समुदायका व्यक्तिबीच तनाव बढेको थियो । दुवै समूह झडपमा उत्रिएपछि शुक्रबार बिहानैबाट उक्त क्षेत्र तनावग्रस्त बनेको छ। झडपलाई नियन्त्रणमा लिन प्रहरीले टियर ग्यास र हवाई फायर गरेको थियो ।
झडका क्रममा केही व्यक्ति घाइते भएको जनाइएको छ । झडपका कारण उक्त क्षेत्र अशान्त बनेपछि स्थानीय प्रशासनले निषेधादेश जारी गरेको हो ।