पोखरा । कास्की जिल्ला मादी गाउँपालिका १, चिली (सिक्लेस) मा अवस्थित चिली-क्होइबोँमा एक कार्यक्रम गरी छ्योपा-कैंदु मूर्तिको अनावरण गरिएको छ ।
सोमबार १९ चैत २०८० (१ अप्रिल) का दिन बेलायतवासी समाजसेवी तथा चिली-क्होइबोँको प्रथम चन्ददाता तमु प्ले ल्हु संघ युकेका पूर्वअध्यक्ष सोम त्होर्जे तमु र श्रीमती बबिता प्हच्यु तमुस्योले संयुक्त रुपमा मूर्ति अनावरण गरेका हुन् । उक्त छ्योपा राख्ने स्थल सोम र बबिता परिवारको १ लाख २७ हजार चन्दा सहयोगबाट निर्माण गरिएको हो ।
चिली-क्होइबोँ उत्खनन एवं निर्माण कार्यको बेलामा तमु जातिको संस्कार अनुसारको प्हच्युद्वारा गर्ने कार्य छ्योपा कैंदुको स्वरुपमा देखिने ढुंगा प्राप्त भएको थियो । सो छ्योप कैंदु ढुंगालाई संरक्षण र प्रवर्द्धन गर्नको लागि चिली-क्होइबोँ प्राङ्गणमा छ्योपा कैंदुलाई स्थापना गरिएको थियो ।
छ्योपा कैंदुलाई त्यस ठाउँमा स्थापनार्थ १ लाख ३० हजार २०० रुपैयाँ खर्च भएको चिली-क्होइबोँका अध्यक्ष बलबहादुर टु तमुले जानकारी गराए ।
सोही कार्यक्रमको बीचमा चिली-क्होइबोँमा तमु जातिको परम्परागत एवं प्रयोग हुने बस्तु चिज राख्न निर्माण गरिएको संग्रहालयमा राख्न तमु जातिको परम्परागत रक्सी पार्ने तामाको भाँडा लगभग २५ हजार रुपैयाँको पुरै सेट पनि समाजसेवी सोम त्होर्जेले समितिका अध्यक्ष बलबहादुर टु तमुलाई हस्तान्तरण गरेका थिए ।
यसैक्रममा तमु प्ये ल्हु संघ युकेका नवनिर्वाचित आमा समूहका अध्यक्ष बबिता प्हच्यु तमुस्योले चिली-क्होइबोँका आमा समूहलाई २५ हजार रुपैयाँ सहयोग गरेकी थिइन् भने बबिता तमुको आमाले पनि आमा समूहलाई ५ हजार रुपैयाँ दान गरेकी थिइन् ।
चिली-क्होइबोंका अध्यक्ष बलबहादुर टु तमुको अध्यक्षतामा भएको अनावरण कार्यक्रम संचालन सचिव बेलबहादुर केप्छैं तमुले गरेका थिए । कार्यक्रममा चिली-क्होइबोँ कार्यसमिति, आमा समूहलगायतको बाक्लो उपस्थिति थियो ।