पोखरा । तमु समुदायको दुई सामाजिक संस्था तमु धिं नेपाल र तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् बीच संस्थागत एकताका लागि शनिबार वार्ता हुँदैछ । उक्त वार्ताका लागि तमु धिं नेपालको वार्ता समिति शुक्रबार काठमाडौं प्रस्थान गरेको छ ।
तमु धिं नेपालको तर्फबाट वार्ता समितिको संयोजक महासचिव अधिवक्ता जुनाकुमारी गुरुङ, समितिका सदस्यहरु सहसचिव गोपाल गुरुङ, कोषाध्यक्ष गमबहादुर गुरुङ, सदस्यहरु कृष्णकुमार गुरुङ, सुरेन्द्र गुरुङ, बिना गुरुङ, ज्ञानसिंह गुरुङ काठमाडौंस्थित तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को कार्यालयमा हुने दुई संस्था बीचको वार्ताका लागि शुक्रबार काठमाडौं प्रस्थान गरेको हो ।
वार्ता समितिलाई तमु धिंबाट शुभयात्राका शुभेच्छासहित तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु एकता अनिवार्य भएकाले तमु धिं नेपालको वार्ता समितिलाई एकताका लागि पूर्ण अधिकार प्रदान गर्दै तमु ह्युल छोंज धिंलाई एकतालाई टुंगोमा पुर्याउन लचिलो बन्न समेत आग्रह गरे ।
अध्यक्ष गुरुङले यसभन्दा पहिलो कार्यकालमा चार पटकको वार्तामा भएका सहमतिलाई पुँजीकृत गर्दै एकताका लागि बाँकी रहेको विषय टुंग्याउन तमु धिं सधैं तयार रहेको र वार्ता समितिलाई एकता प्रक्रिया टुंग्याउन पूर्ण अधिकार दिएको बताए ।
यसअघि भएका वार्ताहरुबाट एकताका लागि विभिन्न ११ बुँदा सहमति गरिएको छ । वार्ताका लागि तमु धिं नेपालको तर्फबाट महासचिव अधिवक्ता जुनाकुमारी गुरुङ र तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदबाट महासचिव डम्बरबहादुर गुरुङको संयोजकत्वमा रहेको वार्ता समिति एकताका लागि शनिबार काठमाडौंमा वार्तामा जुट्ने भएको हो ।