पोखरा । पोखराको सहारा क्लबले नयाँ शैक्षिक सत्र २०८१ देखि सञ्चालन गर्ने गरी सहारा फुटबल एकेडेमीमा थप १७ जना बालकलाई व्यवस्थापन गर्ने भएको छ ।
पोखरा-१७ दोभिल्लामा रहेको सूर्यबहादुर केसी मेमोरियल सहारा आवासीय फुटबल एकेडेमीमा चौथो ब्याचको लागि बाँकी १७ प्रशिक्षार्थी बालकलाई नयाँ भर्ना गर्ने भएको हो । एकेडेमीमा भर्ना हुने प्रशिक्षार्थी बालकको न्यूनतम योग्यता तथा मापदण्डसमेत क्लबले सार्वजनिक गरेको हो ।
कठिन परिस्थिति तथा विपन्न वर्गका, बुवा वा आमा गुमाएको वा दुवै गुमाएको, बुबाआमा अपांगता भएको, २०८० चैत मसान्तमा १० वर्ष पूरा भएर १२ वर्ष ननाघेको (२०७० वैशाख देखि चैत्रसम्म जन्म भएको) र कक्षा ५ वा ६ उत्तीर्ण गरेको हुनुपर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।
यस्तै, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त भएको, नजिकको नातेदार वा बालक आश्रित संघसंस्थाको आवेदन, बालकको बुवाआमाको वा नजिकको नातेदारको नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी वा आश्रित संघसंस्थाको दर्ता प्रमाणपत्रको फोटोकपी, स्थानीय निकायको सिफारिसको सक्कल, जन्मदर्ताको प्रमाणपत्र (हस्पिटलको जन्म दर्तासमेत), सम्बन्धित बालकको चलअचल सम्पत्ति भए सोको निस्साको फोटोकपी, बालकको हालसालै खिचेको फोटो दुई थानसहित चैत मसान्तभित्र आवेदन दिन क्लबले भनेको छ ।
सहारा एकेडेमीमा हाल सात जिल्लाका १३ जना बालक छन् ।