काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी असारमा आयोजना गर्न लागेको प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र पारेको छ ।
सोही सन्दर्भमा सोमबार अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय भगवती चौधरीलाई भेटेर सम्मेलनको अवधारणापत्र बुझाएको छ ।
भेटमा डा. केसीले सम्मेलनमा नेपाल सरकारको सहकार्यका लागि अनुरोध गर्दै यसअघि पनि विभिन्न चरणमा भएका छलफलको जानकारी गराए । मन्त्री चौधरीको संयोजकत्वमा एक उच्चस्तरीय आयोजक समिति गठन गरी अन्तर्राष्ट्रिय महिला सम्मेलनलाई सफल पार्नका लागि आवश्यक निर्देशन एवं सहयोग गर्नका लागिसमेत उनले अनुरोध गरे ।
जवाफमा मन्त्री चौधरीले संघले आयोजना गर्न लागेको सम्मेलनले स्वदेश तथा विदेशमा रहेका सबैलाई समेट्नुपर्नेमा जोड दिइन् । समिति गठन एवं अन्य तयारीका लागि सम्बन्धित निकायलाई निर्देशन दिने उनले प्रतिबद्धता जनाइन् । सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश जाने उनले विश्वास व्यक्त गरिन् ।
संघले सन् २०२४ २९–३० जुन (२०८१ असार १५ र १६) मा काठमाडौँमा प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलनको तयारीस्वरुप यसअघि पनि मन्त्रालय तथा राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत अन्य सरोकारवाला निकायसँग छलफल गरिएको थियो ।
भेटमा महिला उपाध्यक्ष रोजिना प्रधान राईले महिला सम्मेलनमार्फत स्वदेशका ग्रामीण भेगदेखि विश्वमा उदाहरणीय बनेका महिलालाई साक्षात्कार गराउने, महिला बालबालिकाको उत्थान, महिला सशक्तीकरण, स्वास्थ्य शिक्षा लगायतका विषयमा बृहत् छलफल गर्ने र सोही आधारमा सरकार तथा सरोकारवाला निकायलाई सुझाव पेस गर्ने बताइन् । यस्तै महिला सचिव टीका गुरुङले संघले सडक बालबालिकाका लागि हाल सञ्चालन गरिरहेका परियोजनाको बारेमा मन्त्रीसमक्ष जानकारी गराइन् ।
भेटमा अध्यक्ष डा. केसीसहित, महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत लगायतको उपस्थिति थियो ।