काठमाडौँँ । पोखरामा चैत २९ देखि वैशाख १ सम्म होटल संघ पोखराले १९औँ फेवा नव वर्ष महोत्सव आयोजना गर्दै छ । उक्त महोत्सव पर्यटकीय राजधानी पोखराको गरिमा र महत्त्व बढाउने किसिमको हुनुपर्नेमा पर्यटन सम्बद्ध क्षेत्रका अगुवाले जोड दिएका छन् ।
महोत्सवका सन्दर्भमा सोमबार संघले आयोजना गरेको छलफल एवं अन्तरक्रियामा सहभागीले पोखरामा हुन लागेको महोत्सवमा यसको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्नुपर्ने बताए । पोखरालाई चैत ४ गते पर्यटकीय राजधानी घोषणा गरिएको थियो ।
पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म हुने महोत्सवमा नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै पछिल्लो पुस्ताको इच्छा र रुचिसमेतलाई दृष्टिगत गरी कार्यक्रमको तयारी गरिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।
महोत्सवलाई भव्य र सभ्य बनाउन गठित विभिन्न २१ वटा उपसमितिले आआफ्नो तयारी तीव्र बनाएको बताउँदै उनले यसैका सन्दर्भमा पोखराका विभिन्न पर्यटकीय संघसंस्थाका तर्फबाट भारी छुट प्रदान गरिएको जानकारी गराए ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम, पञ्चेबाजा, नाचगानका कार्यक्रम, दोहोरी र कन्सर्ट समेटिने उल्लेख गर्दै सुवेदीले यसपटक ड्यामसाइड क्षेत्रसमेतमा विविध गतिविधि सञ्चालन गरिने बताए । महोत्सवमा पर्यटक दौड र सम्भव भएसम्म डुंगा दौडसमेत समेटिने उनको भनाइ छ । पर्यटन, संस्कृति र खानालाई जोड दिएर गरिएको महोत्सवले कोरोना महामारीलगायतका कारण प्रभावित पर्यटनलाई चलायमान बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।
अन्तरक्रियामा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले महोत्सवको प्रचारका लागि डिजिटल मार्केटिङलाई जोड दिन र भारतीय सञ्चारकर्मीसमेतलाई आमन्त्रण गर्न सुझाव दिए । पोखरालाई पर्यटनको राजधानीको रूपमा घोषणा गरिएपछि यसलाई एउटा ब्रान्डको रूपमा प्रचारप्रसार गर्न उनले सुझाव दिए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विकल तुलाचन, महासचिव राजेन्द्र ढकाल, पोखरा उद्योग वाणिज्य संघ, पर्यटनसम्बद्ध संस्था टान गण्डकी, नाट्टा गण्डकी, महिला पर्यटन व्यवसायी मञ्च, पोखरा पंक्षी समाज, नेपाल हवाई खेलकुद संस्थालगायतका तर्फबाट अध्यक्ष तथा प्रतिनिधिले फेवा नव वर्ष महोत्सव पोखराको पहिचान बनिसकेको बताए ।
पर्यटकीय राजधानी घोषणासँगै हुन लागेको महोत्सव भव्य र सभ्य बन्नुपर्नेमा उनले जोड दिए । उक्त अवसरमा महोत्सवलाई सफल पार्न आफ्ना संस्थाका तर्फबाट साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएको थियो ।