काठमाडौं । गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रको आयोजनामा मंगलबारदेखि 'विश्वशान्ति कांग्युर (त्रिपिटक) पाठ वाचन महापूजा अनुष्ठान' कार्यक्रम सुरु भएको छ ।
बुढानीलकण्ठस्थित चार भन्ज्याङ तमु समाजको कार्यालयमा एक समारोहबीच त्रिपिटक पाठ वाचन कार्यक्रम भव्य रुपमा उद्घाटन गरिएको हो । गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रका अध्यक्ष खेन्पो शिर लामा गुरुङ, प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिका काठमाडौंका मेयर मिठाराम अधिकारीले दीप प्रज्ज्वलन गरेर कार्यक्रम उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अधिकारीले बुढानीलकण्ठमा त्रिपिटक वाचन कार्यक्रम आयोजना हुनु गौरवको विषय भएको बताए । उनले नेपालमा बौद्ध धर्मावलम्बी, हिन्दु धर्मावलम्बीबीच धार्मिक सहिष्णुता रहेको उल्लेख गर्दै आफूहरु धर्मबिना बाँच्न नसकिने बताए । उनले नगरभित्र ५/६ वटा गुम्बा रहेको भन्दै त्यसका लागि के सहयोग गर्न सकिन्छ भन्नेमा आफूहरु सधैं चिन्तित रहने गरेको बताए ।
उनले गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रलाई सहयोग गर्न तयार रहेको भन्दै जेठमै नगरमा प्रस्ताव पेस गर्न आग्रह गरे ।
अध्यक्ष खेन्पो लामाले भगवान् बुद्धले प्रतिपादन गरेको अहिंसा परम धर्मको शिक्षालाई मानव समाजमा विस्तार गर्दै लैजान कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा बौद्ध गुरुहरु, श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेका छन् । आज बिहान शान्ति पदयात्रासमेत गरिएको थियो ।
भोलि चैत ७ गते बुधबारदेखि ११ गते आइतबारसम्म प्रत्येक दिन बिहान ७:३० बजेदेखि बेलुकी ५:३० बजेसम्म कांग्युर तथा विविध पूजा वाचन हुनेछ । भोजन ग्रहण बिहान साढे ११ बजे, धर्म देशनासँगै सम्मान कार्यक्रम प्रत्येक दिन अपराह्न १ बजेदेखि ३ बजेसम्म, ग्रहशान्ति पूजा अपराह्न ३:३० बजेदेखि धर्मपाल (महाकाल) सोल्खा पूजा, पितृपूजा साँझ ४:३० बजे दिप प्रज्वलन, सुर चढाउने र मोलम वाचन हुने अध्यक्ष गुरुङले जानकारी गराए ।
कार्यक्रम समापन चैत १२ गते सोमबार शुक्ल पूर्णिमा तिथिको दिन हुनेछ । त्यसदिन बिहान ७:३० बजेदेखि गणचक्र पूजा, अपराह्न १ बजेदेखि रिन्पोछे गुरुबाट प्रवचन तथा दीर्घायु अभिषेक (वाङ्) प्रदान गरिने छ । महापूजा अनुष्ठानमा सहभागी भई पुण्यलाभको लागि अध्यक्ष खेन्पो गुरुङले सबैलाई अनुरोध गरेका छन् ।
कार्यक्रम सञ्चालन गर्नका लागि इच्छुकले भोजन दानबापत २५ हजार, चियानास्ता/खाजा दान १५ हजार, चिया मात्र २ हजार ५ सय, पानी तथा फलफूल दान र कांग्युर वाचन संस्थापक जिन्दाग ग्रहणबापत ५० हजार रुपैयाँ सहयोग गर्न सकिने आयोजकले जनाएको छ । बुद्ध वचनको अनुशरण गरौं, जीवन सार्थक बनाऔं सन्देशसहित गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्र वि सं २०७० सालमा स्थापना भएको हो ।