काठमाडौं । सोपाल समाज युकेका महासचिव भरत गुरुङ काठमाडौंमा सम्मानित भएका छन् ।
महासचिव गुरुङलाई सोपाल समाज काठमाडौंले बिहीबार एक कार्यक्रमबीच सम्मान गरेको हो । सोपाल समाज काठमाडौंका आजीवन सदस्यसमेत रहेका गुरुङलाई सोपाल समाज काठमाडौंका अध्यक्ष ज्ञानेन्द्रमान गुरुङले खादा, पुष्पगुच्छाले सम्मान गर्दै मायाको चिनोसमेत प्रदान गरेका थिए । त्यसक्रममा महासचिव गुरुङकी धर्मपत्नी सिर्जना गुरुङलाई समेत सम्मान गरिएको थियो ।
महासचिव गुरुङलाई सोपाल समाज काठमाडौं आमा समूहको तर्फबाट रक्षकुमारी गुरुङले फेटाद्वारा सम्मान गरिएको थियो । सामाजिक काममा निकै अग्रसर सम्मानित गुरुङ बेलायतमा स्याङ्जा समाज युकेका अध्यक्ष, तमु धीं लन्डन इकाइ अध्यक्षसमेत हुन् ।
कार्यक्रममा संक्षिप्त मन्तव्यका क्रममा महासचिव गुरुङले सोपाल समाज काठमाडौंले गरेको सम्मानलाई आफूले महत्वपूर्ण रुपमा लिएको जनाउँदै संस्थाका अध्यक्ष ज्ञानेन्द्रमान गुरुङलगायत पदाधिकारी, आमा समूहलाई धन्यवाद दिए । उनले बेलायतका विभिन्न संस्थाको नेतृत्वमा पुग्नु र सामाजिक काममा लाग्न उत्प्रेरणा मिल्नुमा सोपाल समाजलाई श्रेय जाने बताए ।
अध्यक्ष ज्ञानेन्द्रमानले सम्मान गर्ने अवसरको लागि समय दिएको भन्दै भरत गुरुङ दम्पतीलाई धन्यवाद दिँदै आगामी दिनमा थप प्रगतिको शुभकामना व्यक्त गरे ।
यसैबीच, कार्यक्रममा सम्मानित महासचिव गुरुङले सोपाल समाज काठमाडौंलाई माथि उठाउनु आफ्नो पनि दायित्व भन्दै आमा समूहसमेतलाई २५/२५ हजार रुपैयाँ सहयोग समेत गरेका थिए ।
कार्यक्रम सोपाल समाज काठमाडौंका अध्यक्ष ज्ञानेन्द्रमान गुरुङको सभापतित्व भएको थियो । सम्मानित गुरुङ शुक्रबार युके प्रस्थान गर्दैछन् ।