काठमाडौं । गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रले यही चैत ६ देखि १२ गतेसम्म काठमाडौंमा 'विश्वशान्ति कांग्युर (त्रिपिटक) पाठ वाचन महापूजा अनुष्ठान' कार्यक्रम गर्ने भएको छ ।
बुढानीलकण्ठमा रहेको चार भन्ज्याङ तमु समाजको कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रका अध्यक्ष खेन्पो शिर लामा गुरुङले विश्वशान्ति त्रिपिटक पाठ वाचन कार्यक्रमबारे जानकारी दिएका हुन् । कार्यक्रम चार भन्ज्याङ तमु समाज भवन बुढानीलकण्ठमा हुनेछ ।
नेपाल र नेपालीहरुको गौरव तथा विश्व शान्तिका अग्रनायक भगवान् बुद्धले प्रतिपादन गरेको अहिंसा परम धर्मको शिक्षालाई मानव समाजमा विस्तार गर्दै लैजाने कार्यक्रमको मूल उद्देश्य रहेको अध्यक्ष खेन्पो लामाले बताए । उनका अनुसार महापूजा कार्यक्रममा बौद्ध गुरुहरु बज्राचार्य (दोर्जे लोपोन), बौद्धाचार्य (लोपोन), उपाध्य (खेन्पो), अवतारी (टुल्कु) रिन्पोछे गुरुहरु कम्तीमा ५० जनाबाट प्रत्येक दिन बौद्ध दर्शनको विविध विषयमा धर्म देशना गरिनेछ ।
अध्यक्ष गुरुङका अनुसार चैत ६ गते मंगलबार शुक्ल दशमी तिथीको दिन बिहान ७ बजे शान्ति पदयात्रा, बिहान १० बजे पूजा समुद्घाटन, चैत ७ गते बुधबारदेखि ११ गते आइतबारसम्म प्रत्येक दिन बिहान ७:३० बजेदेखि बेलुकी ५:३० बजेसम्म कांग्युर तथा विविध पूजा वाचन हुनेछ । भोजन ग्रहण बिहान साढे ११ बजे, धर्म देशनासँगै सम्मान कार्यक्रम प्रत्येक दिन अपराह्न १ बजेदेखि ३ बजेसम्म, ग्रहशान्ति पूजा अपराह्न ३:३० बजेदेखि धर्मपाल (महाकाल) सोल्खा पूजा, पितृपूजा साँझ ४:३० बजे दिप प्रज्वलन, सुर चढाउने र मोलम वाचन हुने अध्यक्ष गुरुङले जानकारी गराए ।
कार्यक्रम समापन चैत १२ गते सोमबार शुक्ल पूर्णिमा तिथिको दिन हुनेछ । त्यसदिन बिहान ७:३० बजेदेखि गणचक्र पूजा, अपराह्न १ बजेदेखि रिन्पोछे गुरुबाट प्रवचन तथा दीर्घायु अभिषेक (वाङ्) प्रदान गरिने छ । महापूजा अनुष्ठानमा सहभागी भई पुण्यलाभको लागि अध्यक्ष खेन्पो गुरुङले सबैलाई अनुरोध गरेका छन् ।
चार भन्ज्याङ तमु समाजको व्यवस्थापनमा हुने कार्यक्रममा उद्घाटन र समापनको दिन सयौं र अन्य दिन दैनिक ४/५ सय श्रद्धालु सहभागी आयोजकको अपेक्षा रहेको छ । कार्यक्रम सञ्चालनका लागि कुनै संस्था वा निकायको बजेट नभएकोले श्रद्धालुको स्वेच्छिक दानभेटीबाटै सम्पन्न गर्ने आयोजकको तयारी छ । इच्छुकले भोजन दानबापत २५ हजार, चियानास्ता/खाजा दान १५ हजार, चिया मात्र २ हजार ५ सय, पानी तथा फलफूल दान र कांग्युर वाचन संस्थापक जिन्दाग ग्रहणबापत ५० हजार रुपैयाँ तोकिएको छ ।
केन्द्रले २०७८ चैत १३ देखि १८ गतेसम्म प्रदेश नं ४ तमुहरुको राजधानी सुन्दरी नगर पोखरा महानगरपालिका १ स्थित तमु धिं नेपालको प्राङ्गणमा समस्त पितृ उद्धार तथा जगत प्राणी कल्याण एवं ग्रहा शान्तिको निमित्त प्रथम विश्वशान्ति कांग्युर (त्रिपिटक) पाठ वाचन महापूजा कार्यक्रम गरेको थियो । आगामी दिनमा नेपालका सातैवटा प्रदेशका सहर र गाउँहरुमा क्रमशः काग्युर (त्रिपिटक) पाठ वाचन कार्यक्रम गर्दै लैजाने योजना रहेको अध्यक्ष खेन्पो गुरुङले जानकारी गराए ।
समाजका खेन्पो शिर लामा गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलन महासचिव खेन्पो दशरथ गुरुङले सञ्चालन गरेका थिए । पत्रकार सम्मेलनमा पत्रकार सम्मेलन चार भन्ज्याङ तमु समाजका अध्यक्ष क्या. धनबहादुर गुरुङ, । गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्र काठमाडौंका क्षेत्रीय प्रमुख लामा गमबहादुर गुरुङ, लामागुरुहरु, युवा व्यवसायी विजय गुरुङ, विभिन्न सञ्चारमाध्यमका पत्रकारलगायत सहभागी थिए ।
बुद्ध वचनको अनुशरण गरौं, जीवन सार्थक बनाऔं सन्देशसहित गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्र वि सं २०७० सालमा स्थापना भएको हो ।