काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गैरआवासीय नेपाली सम्बन्धी कानून तथा नियमावली अविलम्ब अघि बढाउने बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीसँग मन्त्री निवासमा भएको भेटका क्रममा गिरीले सो प्रतिबद्धता जनाएका हुन् ।
भेटवार्तामा संघका अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकता र दोहोरो कर छुट सम्बन्धी निर्देशिका तत्काल जारी गर्न आग्रह गर्दै गैरआवासीय नेपाली नागरिकता लिएपछि पनि त्यसको कार्यान्वयनमा भएका अड्चनबारे मन्त्रीलाई जानकारी गराएका थिए ।
उनले नेपालको संविधानले परिकल्पना गरेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता प्रत्याभूति हुने गरी सरकारलाई कानून ल्याउन आग्रह गरेका थिए ।
भेटमा मन्त्री गिरीले गैरआवासीय नेपाली सम्बन्धी कानून तथा नियमावलीलाई प्राथमिकतामा राखेर आवश्यक प्रक्रिया अघि बढाउनेसमेत आश्वासन दिए ।
नेपालले गत अक्टोबरदेखि जारी गरेको गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिले अझै पनि नेपाल आउँदा भिसा लिनु पर्ने, मालपोत, अध्यागमन, बैंकलगायत क्षेत्रमा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा समस्या देखिएपछि संघले मन्त्रीको ध्यानाकर्षण गराएको हो ।
संघले गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयन र संशोधनका लागि प्रस्तावित गैरआवासीय नेपाली ऐन अघि बढाउन सरकारसँग माग गर्दै आएको छ ।