कास्की । माइला-कान्छा अभियान बेलायतकी अभियन्ता समाजसेवी पार्वती गुरुङ सम्मानित भएकी छन् ।
कास्कीमा मंगलबार एक कार्यक्रमबीच सोँपाल समाज पोखरा र टुर्मे भाइखलक पोखराले उनलाई सम्मान गरेको हो । पार्वती गुरुङले हालै तमु धीं युकेबाट आदर्श तमु नारी अवार्ड पाएकी थिइन् । सोही अवार्ड पाएको भन्दै उनलाई सम्मान गरिएको हो ।
सामान्यतया पुरुषलाई मात्रै फेटा लगाएर सम्मान गर्ने चलन छ । तर सोँपाल समाज पोखराले भने सामाजिक अभियन्ता पार्वतीलाई पनि फेटा लगाइ दिएर सम्मान गरेको हो । स्याङ्जाको अर्जुनचौपारी- ६ दरौं गाउँ घर भई युकेमा बस्दै आएकी पार्वती ब्लायतमा माइला-कान्छा अभियानमार्फत समाजसेवामा क्रियाशील छिन् ।
सो अवसरमा कोल्म बहाकोट समाज युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ र सोँपाल समाजकी चेली समाजसेवी ओमदेवी गुरुङलाई पनि सम्मान गरिएको थियो । चन्द्रबहादुरलाई कोल्म बहाकोट समाज युकेको अध्यक्ष चयन भएकोमा सम्मान गरिएको हो ।
समाजका अध्यक्ष दीपक गुरुङ, भाइखलकका अध्यक्ष हर्कबहादुर गुरुङ, संस्थाका पदाधिकारी तथा कार्यसमिति सदस्यले फेटा, खादा, भांग्रा र पुष्पगुच्छा दिँदै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सम्मानका लागि अध्यक्ष चन्द्रबहादुर र समाजसेवी पार्वतीले संस्थाका सम्पूर्ण परिवारलाई धन्यवाद दिएका थिए । उनीहरूले सोँपाल समाज पोखराको विभिन्न कार्यमा सहयोग जारी रहने प्रतिबद्धतासमेत जनाए ।
अक्षयकोष वृद्धिमा सहयोग
चन्द्रबहादुर र पार्वतीले अक्षयकोष वृद्धिलगायतमा नगद सहयोग गरेका थिए । पार्वतीले बुबा स्वर्गीय निलबहादुर गुरुङको स्मृतिमा परिवारको तर्फबाट समाजलाई भोजन दान र अक्षय कोषको लागि दुई लाख ५० हजार ५०५ रुपैयाँ प्रदान गरेकी थिइन् ।
यस्तै, चन्द्रबहादुरले कोष वृद्धिका लागि २५ हजार रुपैयाँ प्रदान गरेका थिए । समाजका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव इन्द्र गुरुङले सञ्चालन गरेका थिए ।
कार्यक्रममा सोँपाल समाज पोखराका संस्थापक अध्यक्ष एवं पोखरा महानगरका पूर्वउपमेयर क्या. मानबहादुर गुरुङ, उपाध्यक्ष सावित्री गुरुङ, आमा अध्यक्ष सुनिता गुरुङ, उपाध्यक्ष मिना गुरुङ, बेलायतवासी समाजसेवी जुमप्रसाद गुरुङलगायतको उपस्थिति थियो ।