काठमाडौँ । नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ ।
नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा सहमति भएको हो ।
सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलबीच सहकार्य आवश्यक रहेको महसुस गरी चार दलको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने र सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने सहमति भएको छ ।
रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति पनि चार दलले गरेका छन् ।
त्यसैगरी, आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने, त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने र सरकार गठन प्रक्रियामा सहभागी हुन अन्य दलसँग पनि संवाद अघि बढाउने सहमति भएको छ ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषय सहमतिका आधारमा अविलम्ब टुंग्याउने सहमति पनि चार दलबीच भएको छ ।
त्यसैगरी, संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानून निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने विषयमा सत्ता गठबन्धनका दल सहमत भएका छन् ।
सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी साझा न्यूनतम कार्यक्रम तयार गर्ने पनि सहमति भएको छ । यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गरिने जनाइएको छ ।
राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न पनि चार दल सहमत भएका छन् ।
आठबुँदे सहमतिमा एकाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।